‘मालती मंगले’को प्रिमियरमा तारिफै तारिफ, दर्शकदेखि रबी लामिछानेसम्म प्रभावित

काठमाडौं। भोली शुक्रवारदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘मालती मंगले’को ग्रान्ड प्रिमियर भव्यताका साथ सम्पन्न भएको छ। प्रिमियर शोमा उपस्थित विशिष्ट व्यक्तित्वहरू, सञ्चारकर्मी र दर्शकहरूबाट फिल्मले अत्यन्तै उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको छ। फिल्मले उठान गरेको विषयवस्तु र त्यसलाई पर्दामा गरिएको आकर्षक प्रस्तुतिले दर्शकलाई २ घण्टा ३८ मिनेटसम्म पूर्ण रूपमा एकाग्र बनाउन सफल भएको सहभागीहरूले बताएका छन्।

 

प्रिमियरपछि फिल्मका कलाकारहरूको अभिनयको व्यापक प्रशंसा भएको छ। अभिनेता विजय बराल को स्वाभाविक अभिनयको चर्चा सधैँझैँ यस पटक पनि कायम छ भने नायिका वर्षा राउत ले आफ्नो करियरकै हालसम्मको उत्कृष्ट अभिनय गरेको भन्दै दर्शक तथा समीक्षकबाट तारिफको वर्षा भएको छ। यसै गरी, टेलिभिजनका विभिन्न शोहरूमा कमेडी कलाकारको रूपमा चिनिएका मेक्सम गौडेल ले यस फिल्ममार्फत ठुलो पर्दामा आफूलाई बलियो रूपमा उभ्याएका छन्। उनको उपस्थितिलाई फिल्मको एक प्रमुख ‘प्लस पोइन्ट’ मानिएको छ।

 

फिल्म हेर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबी लामिछाने पनि प्रिमियरमा पुगेका थिए। यस फिल्मका निर्माता तथा लोकप्रिय गायक रामकृष्ण ढकाल का पुराना साथीसमेत रहेका लामिछानेले नेपालमा भन्नै पर्ने कथा फिल्मले उठाएको प्रतिक्रिया दिए। फिल्म हेरुन्जेल आफू कतै पनि निराश र बोर नभएको भन्दै उनले पत्रकारहरूसँग भने, “मैले धेरै पछाडि फिल्म हेर्ने मौका पाएँ। यो फिल्म निकै राम्रो छ। कमेडी पनि छ, इमोसन पनि छ, कलाकारहरूको अभिनय तथा संवाद पनि राम्रो छ। आम दर्शक भएर हेर्दा यो फिल्म निकै राम्रो छ। निर्देशक नयाँ भए पनि नयाँले बनाएको फिल्म जस्तो लाग्दैन। म यो फिल्म हेरेर हाँसे पनि, इमोसनल पनि भएँ।”

सभापति लामिछानेका अतिरिक्त वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ ले पनि फिल्म हेरेर यसको भरपुर प्रशंसा गरेका थिए। प्रिमियर शोमा कलाकारहरू कृष्ण मल्ल, शर्मिला मल्ल, किरण केसी, यम बराल, सन्दीप क्षेत्री लगायत फिल्म युनिट, विभिन्न ओहदाका व्यक्तित्वहरू, सञ्चारकर्मी, परिवारका सदस्यहरू तथा सङ्गीत र फिल्म क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो। उपस्थित सबैबाट फिल्मले निकै सकारात्मक प्रतिक्रिया बटुलेको छ।

रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको यस फिल्मको कथा निर्देशक प्रकु पाण्डेय स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन्। फिल्ममा विजय, वर्षा र मेक्समका साथमा प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला, सुनिल तामाङ लगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ। सागर ज्ञवाली कार्यकारी निर्माता रहेको यस फिल्ममा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह-निर्माताका रूपमा छन्। प्राविधिक पक्षसमेत निकै उत्कृष्ट रहेको यस फिल्ममा महेश पौडेलको छायाङ्कन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रङ्ग संयोजन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड स्कोर र डिकेश खड्गीको ध्वनि मिश्रण रहेको छ। आरआर फिल्म्सले वितरण गर्ने यो फिल्म शुक्रवारदेखि देशव्यापी रूपमा प्रदर्शनमा आउँदैछ।

Leave a Reply