कक्षाकोठामा ‘रोल नं १’को प्रचार : विद्यार्थीसँग सिधै अन्तरक्रियामा निर्माण टिम

गौथली - 1

काठमाडौं । फिल्म ‘रोल नं १’को निर्माण टिम लक्षित दर्शकसामु सिनेमाको पब्लिसिटी गर्न मोफसल निस्किएको छ । पहिलो चरणमा निर्माण टिम पूर्वी नेपाल पुगेको छ ।

निर्माण टिमले झापा, मोरङ र सुनसरीमा पुगेर विद्यार्थीलाई भेट्नेछ । विद्यार्थीलाई भेट्न मोफसल पुगेको निर्माण टिमले प्रचारको स्लोगन नै ‘हामी आउँदैछौँ तपाईंको कक्षाकोठामा सुन्न तपाईंको मन कुरा…’ राखेको छ । यो फिल्मको स्लोगन ‘हरेक विद्यार्थी’को कथा रहेको छ ।

विद्यालयमा फिल्मका कलाकार र गायक पुगेर फिल्म ‘रोल नं १’बारे कुरा गर्न सुरु गरेका छन् । साथै, विद्यार्थीका अनुभव र भावना पनि सुन्न थालेका छन् ।

विद्यार्थीको कथा बोकेको फिल्म ‘रोल नं १’को निर्माण टिम अहिले मोफसल दौडाहामा छ। पूर्वी नेपालका झापा, मोरङ र सुनसरीका विद्यालयमा पुगेर कलाकारहरूले विद्यार्थीसँग सिधै अन्तरक्रिया गर्दै फिल्मको प्रचार सुरु गरेका छन्।

“हामी आउँदैछौँ तपाईंको कक्षाकोठामा…” भन्ने स्लोगनसहित टिमले विद्यार्थीका अनुभव सुन्दै, उनीहरूकै कथा पर्दामा ल्याउने तयारी गरेको छ।

मुकुन भुसाल, रेणु योगी र प्रशान्त शिवाकोटी सहभागी यो प्रचार अभियान जेठ १५ बाट प्रदर्शनमा आउन लागेको फिल्मको हाइप बढाइरहेको छ।

विद्यार्थीसँग अन्तरक्रिया गर्न मुख्य कलाकार मुकुन भुसाल, रेणु योगी तथा गायक तथा संगीतकार प्रशान्त शिवाकोटी, कर्मा लामा पुगेका छन् ।

विनोद पौडेलको निर्माण फिल्म ‘रोल नं १’ले विद्यार्थीको मनोविज्ञानको कथा भन्नेछ । अहिलेको शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने नकारात्मक प्रभाव र त्यसले समग्र जीवनमा पार्ने असरलाई फिल्मले उठान गर्ने निर्माण पक्षले जनाएको छ ।

गलत शैक्षिक प्रणाली र अभ्यासले आम विद्यार्थीमा परेको नकारात्मक असरलाई यो फिल्मले देखाउने निर्माता विनोद पौडेलले बताएका छन् । त्यसैले विद्यालयलाई प्रचारका लागि लक्षित गरिएको उनले बताए।

फिल्म ‘रोल नं १’ जेठ १५ गते (गणतन्त्र दिवस)बाट प्रदर्शन हुँदैछ । जोन योञ्जनको निर्देशनमा तयार भएको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् ।

फिल्मको बाल कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको फिल्मको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् ।

यो फिल्म महेश दवाडीले लेखेका हुन् । हिमाली जिल्ला म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगहरूमा छायांकन गरिएको फिल्मका डीओपी शिवराम श्रेष्ठ हुन् ।

फिल्ममा प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको विजिएम, फिरोड खड्का चिफ एडी, प्रोडक्सन डिजाइनरमा कला संग्रौला र प्रोडक्सन हेड मनोज जोशी रहेका छन् । फिल्मका सम्पादक मदन घिमिरे हुन् ।

निर्माता पौडेलका अनुसार यो फिल्म नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा ल्याइनेछ । फिल्मलाई रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरण गर्ने जिम्मा लिएको छ ।

Leave a Reply