काठमाडौं । फिल्म ‘महाराजधिराज’को मंगलबार बंगलामुखी मन्दिरमा भव्य शुभमुहूर्त गरिएको छ। शङ्खधुन र पञ्चेबाजासहित सम्पन्न शुभमुहूर्त पूजा बिहान ८ बजेदेखि सुरु भई ११ः११ बजेसम्म चलेको थियो।
शुभमुहूर्त कार्यक्रममा फिल्मका मुख्य कलाकारहरू पुष्प खड्का, पूजा शर्मा, उषा रजक, आर्यन सिग्देललगायतको उपस्थिति रहेको थियो। निर्देशक परिच्छेद सेनको ‘ड्रिम प्रोजेक्ट’का रूपमा रहेको यस फिल्मको औपचारिक सुरुआतसँगै छायांकन तालिका पनि सार्वजनिक गरिएको छ।
फिल्मको छायांकन आगामी २५ गतेदेखि सुनसरीबाट सुरु हुने जनाइएको छ। सुनसरीको श्रीलंका टापुबाट सुरु हुने छायांकन एक सातासम्म त्यहीँ चल्नेछ। त्यसपछि काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा सुन्दर स्थानहरूमा करिब ७० दिन छायांकन गरिनेछ। फिल्मको छायांकन नवराज थापाले गर्नेछन्।
लामो समयदेखि स्क्रिप्टमा काम गरिएको ‘महाराजधिराज’ सामाजिक पिरियड ड्रामा जनरामा आधारित रहेको निर्देशक सेनले बताएका छन्। फिल्ममा आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, गजित बिष्ट, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डीसी, सुशील सिटौला लगायत कलाकारको अभिनय रहनेछ।
यसका साथै हिउवाला गौतम, प्रिया रिजाल, नीर शाह, विशाल पहाडी, आशा पौडेल, पुष्कर कार्की, मोनिका बुढाथोकी, कविता पुरी, सृष्टि खड्का, कुलदीप अधिकारी, कमल देवकोटा लगायतका कलाकार पनि फिल्ममा देखिनेछन्। करिब ८० कलाकार समेटिएको यो फिल्ममा अन्य थुप्रै कलाकारहरूको पनि सहभागिता रहनेछ।
‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज विष्टले बलियो कलाकार लाइनअपअनुसार फिल्मलाई उत्कृष्ट बनाउने तयारी रहेको बताएका छन्। छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यस फिल्मको लेखन निर्देशक सेन स्वयंले गरेका हुन्।
फिल्मका निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट रहेका छन्। ‘महाराजधिराज’ आगामी फूलपातीमा प्रदर्शन गर्ने तयारी गरिएको निर्माण टिमले जनाएको छ।
News Filmy Newsportal / Nepal