सलिमान बनियाको ‘युनिभर्सिटिज अफ गुन्डाज’ टिजर सार्वजनिक

काठमाडौं । अभिनेता तथा मोडल सलिमान बनियाले आफ्नो जन्मदिनको अवसर पारेर कमब्याक फिल्म ‘युनिभर्सिटिज अफ गुन्डाज’को टिजर मंगलबार युट्युबमार्फत सार्वजनिक गरेका छन्। यससँगै उनको औपचारिक पुनरागमन पक्का भएको छ।

करिब सात वर्षपछि फिल्म क्षेत्रमा फर्किएका बनियाले गत महिनाको एक फोटोसुटमार्फत पुनरागमनको संकेत दिएका थिए। उनी अभिनित पछिल्लो फिल्म ‘यात्रा’ सन् २०१९ मा प्रदर्शनमा आएको थियो भने उनले ‘ए मेरो हजुर २’ बाट नेपाली फिल्ममा अभिनेता रूपमा डेब्यू गरेका थिए।

जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको १ मिनेट १२ सेकेन्ड लामो टिजर ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। टिजरमा बनियाको एक्सन अवतार प्रस्तुत गरिएको छ।

सान्भी इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको यस फिल्मबाट उनको दमदार पुनरागमन हुने संकेत मिल्छ। यसअघिका फिल्ममा रोमान्टिक भूमिकामा देखिएका बनिया यसपटक भने एक्सन भूमिकामा प्रस्तुत हुने देखिन्छन्।

टिजरमा अभिनेता सलोन बस्नेत पनि एक्सन दृश्यमा देखिएका छन्। टिजरका आधारमा बनिया र बस्नेत मित्र पात्रका रूपमा प्रस्तुत भएको अनुमान गर्न सकिन्छ।

बनियाकै कथामा आधारित यस फिल्मलाई सुरेश न्यौपानेले निर्देशन गर्दैछन्। फिल्मका अन्य कलाकारबारे भने हालसम्म जानकारी सार्वजनिक गरिएको छैन।

Leave a Reply