पाटन बंगलामुखी मन्दिरमा ‘आ बाट आमा २’को शुभमुहूर्त

काठमाडौं । अभिनेता पल शाहको मुख्य भूमिकामा निर्माण हुन लागेको फिल्म ‘आ बाट आमा २’को शुभमुहूर्त गरिएको छ । सोमबार बिहान निर्माण टिमले पाटनस्थित बंगलामुखी मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको औपचारिक सुरुवात गरेको हो ।

निर्माण टिमले स्क्रिप्ट पूजा गर्दै फिल्मको काम अघि बढाएको हो । यो फिल्म अघिल्लो वर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘आ बाट आमा’को सिक्वेल हो । सिक्वेलमा पनि केही पुराना कलाकारको निरन्तरता रहने निर्माण पक्षले जनाएको छ ।

फिल्ममा पल शाह, विपना थापा, प्रदीप रावत, गजित बिष्टसँगै आकाश श्रेष्ठ र नरेन खड्का पनि जोडिएका छन् । अभिनेत्री तथा अन्य केही कलाकारको छनोट भने अझै जारी रहेको निर्देशक चन्द्र पन्तले बताएका छन् । उनका अनुसार बाँकी कलाकार छिट्टै फाइनल गरिनेछ ।

निर्देशक पन्तले फिल्मको छायांकन तालिका पनि केही दिनभित्रै टुंगो लाग्ने जानकारी दिएका छन् । फिल्मको कथा तथा पटकथा पनि उनकै रहनेछ ।

आर्या इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ । निर्माण पक्षले फिल्मलाई आगामी दसैंमा प्रदर्शन गर्ने तयारी गरेको छ ।

Leave a Reply