काठमाडौं । विनोद पौडेलको निर्माणमा बनेको फिल्म ‘रोल नं १’को टिजर सार्वजनिक गरिएको छ । निर्माण पक्षले बुधबार युट्युबमार्फत टिजर सार्वजनिक गरेको हो ।
सार्वजनिक टिजरमा आम मानिसका सपना, भरोसा र गरिबीले निम्त्याउने बाध्यताको कथा प्रस्तुत गरिएको छ । विशेषतः बाबुले आफ्नो इच्छा त्यागेर छोराको भविष्यका लागि देख्ने सपना र त्यो पूरा नहुँदाको पीडा टिजरमा देखाइएको छ ।
छात्रवृत्तिमा निर्भर भएर पढ्नुपर्ने बाध्यता र त्यसबाट बञ्चित हुँदा विद्यार्थीले भोग्नुपर्ने मानसिक अवस्थालाई टिजरले मार्मिक रूपमा उठाएको छ । पढाइमा अब्बल हुनै पर्ने सामाजिक दबाब र सरकारी नियमका कारण गरिब विद्यार्थी कसरी पछि पर्दैछन् भन्ने यथार्थ पनि टिजरमा देखाइएको छ ।
टिजरले फिल्मले नेपाली समाजका धेरै परिवारको कथा भन्ने संकेत गर्छ । विद्यार्थीको मनोविज्ञान, शैक्षिक प्रणालीको दबाब र त्यसले जीवनमा पार्ने असरलाई कथावस्तु बनाइएको निर्माण पक्षले जनाएको छ ।
जोन योञ्जनको निर्देशनमा बनेको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारीको मुख्य भूमिका रहेको छ । बाल कलाकारका रूपमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठले अभिनय गरेका छन् ।
विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको फिल्ममा छत्रमाया गिरी र रमेश चौलागाईं सह–निर्माता छन् । महेश दवाडीको लेखन रहेको फिल्म म्याग्दीका विभिन्न स्थानमा छायांकन गरिएको हो ।
फिल्म आगामी जेठ १५ गतेदेखि प्रदर्शनमा आउनेछ । नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शन गर्ने तयारी गरिएको निर्माण पक्षले जनाएको छ ।
News Filmy Newsportal / Nepal