काठमाडौं । लोकप्रिय हास्य टेलिभिजन रियालिटी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ले पहिलो सिजनको सफलतापछि दोस्रो सिजन सुरु गरेको छ । निर्माण टिमले हाल प्रसारण भइरहेको ५४औं भागलाई ‘च्याप्टर–२’का रूपमा निरन्तरता दिँदै नयाँ सिजनको औपचारिक सुरुआत गरेको हो ।
दर्शकको उच्च माग र निरन्तर मनोरञ्जनको आवश्यकता ध्यानमा राख्दै शो बिना ब्रेक निरन्तर चलाइएको निर्देशक तथा कार्यक्रम सञ्चालक विशाल भण्डारीले जानकारी दिए । उनका अनुसार पहिलो सिजनकै निरन्तरतामा दोस्रो सिजन अघि बढाइएको हो ।
च्याप्टर–२ को पहिलो एपिसोडमा वैशाख २५ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘मालती मंगले’को निर्माण टिम र कलाकारहरू अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा वर्षा राउत, विजय बराल, मेक्सम गौडेल, निर्माता तथा गायक रामकृष्ण ढकाल, निर्देशक प्रकु पाण्डेय, कार्यकारी निर्माता सागर ज्ञवाली र गायिका ऋतिका श्रेष्ठको उपस्थिति थियो ।
शोमा पवन भट्टराई, प्रभात लामा, कर्मासिंह लामा, भरतमणि पौडेल, कैलाश कार्की र सुमन कोइरालाले प्रस्तुति दिएका छन् । हालै प्रसारण भएको एपिसोडले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ ।
पवन भट्टराईले ‘कबड्डी’ फिल्मका ‘बीके’ पात्रमार्फत गरेको प्रस्तुति विशेष चर्चामा रह्यो भने प्रभात लामा र कर्मा लामाको ‘सुदन–सुशीला’ डुओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भरतमणि र सुमन कोइरालाको प्रस्तुति पनि शोको मुख्य आकर्षण बनेको छ ।
नयाँ सिजनसँगै कलाकार टिममा केही परिवर्तन गरिएको छ । सन्तोष थापा शोबाट बाहिरिएका छन् भने कर्मा लामा अब नियमित प्रस्तोताका रूपमा जोडिएका छन् । यसअघि साइड रोलमा देखिँदै आएका उनी ‘सुदन–सुशीला’ र ‘चक्रे–मिलन’ पात्रबाट चर्चामा आएका थिए ।
शोको स्क्रिप्ट लेखनमा कर्मा लामा, निश्चल अर्याल र प्रतीक अधिकारी छन् । सेट डिजाइनमा पनि परिवर्तन गर्दै नयाँ रंगरोगन र सजावट थपिएको छ ।
दीपाश्री निरौलाको अध्यक्षतामा थ्री प्रोडक्सनको प्रस्तुति रहेको यो कार्यक्रम प्रत्येक मंगलबार राति ९ बजे हिमालय टिभीमा प्रसारण हुँदै आएको छ । साथै, ओएसआर रियालिटी युट्युब च्यानलमार्फत पनि सार्वजनिक भइरहेको छ ।
News Filmy Newsportal / Nepal