काठमाडौं । निर्देशक लक्ष्मण रिजालको फिल्म ‘काजी’को पहिलो गीत ‘वारि बर पारि पीपलु’ सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत निर्माण टिमले गीत सार्वजनिक गरेको हो ।
कालीप्रसाद बास्कोटाको शब्द तथा संगीत रहेको गीतमा गंगा सोनाम र करण परियारको स्वर रहेको छ । दुवै गायक ‘नेपाल आइडल’का विजेता हुन् । गंगाले यसै गीतमार्फत नेपाली फिल्ममा पार्श्व गायन डेब्यु गरेकी छन् ।
पतिपत्नीबीचको प्रेम कथामा आधारित गीतको भिडियोमा अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारी नवविवाहित जोडीका रूपमा देखिएका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा उनीहरूको दैनिकी, पूजापाठदेखि खेतबारीसम्मका दृश्य समेटिएका छन् ।
रिजाल एन्ड रिजाल प्रोडक्सनको प्रस्तुति रहेको फिल्मका प्रस्तुतकर्ता रामप्रसाद रिजाल हुन् । फिल्ममा विपिन र केकीसहित गरिमा शर्मा, हेमन्त बुढाथोकी, प्रकाश घिमिरे, विशाल पहारी, हिउँवाला गौतम, अनुराग कुँवर, सन्दीप बाबु लोहानी, विनोद न्यौपाने, रश्मि भट्ट, प्रीतिका शर्मा, प्रशंसा सुवेदी, नवराज गिरी तथा बाल कलाकार दिक्षिता अर्याल, आरव बराल र सुपला सापकोटा लगायतको अभिनय रहेको छ ।
निर्माण टिमका अनुसार फिल्म सामाजिक तथा भावनात्मक कथामा आधारित छ । यसले मानवीय सम्बन्ध, माया, पीडा र जिम्मेवारीका विविध पक्षलाई उजागर गर्ने प्रयास गर्नेछ । फिल्म आगामी जेठ ८ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ ।
प्रदीप भारद्धाजको कथा रहेको फिल्ममा चिन्तन राजभण्डारीको छायांकन छ । कालीप्रसाद बास्कोटाको संगीत, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, श्याम कुँवरको रंग संयोजन, सुजिल कर्माचार्यको पार्श्व संगीत, बनिश शाह र विपिन मल्लको सम्पादन रहेको छ ।
असिम काफ्ले कार्यकारी निर्माता रहेको फिल्मका निर्माता रामप्रसाद रिजाल, नेहान रिजाल र विकास राज जोशी हुन् ।
News Filmy Newsportal / Nepal