‘लालीबजार’ : बादी समुदायको कथा बोकेको फिल्म, स्वस्तिमाका लागि ‘टर्निङ प्वाइन्ट’

काठमाडौं । ‘टल्क जंग भर्सेस टुल्के’, ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता सफल फिल्म निर्माण गरेको षट्कोण आर्ट्सको नयाँ प्रस्तुति ‘लालीबजार’ आगामी वैशाख १८ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।

अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्मको सार्वजनिक पहिलो पोस्टरले नै दर्शकको ध्यान खिचेको थियो । गर्भवती महिलाको भावुक चित्रण गरिएको पोस्टरले फिल्मको कथावस्तुबारे संकेत दिएको थियो । ट्रेलर र गीत–संगीतका कारण फिल्मप्रति दर्शकमाझ उत्सुकता बढेको छ ।

फिल्ममा स्वस्तिमाले बादी समुदायकी महिलाको भूमिका निर्वाह गरेकी छन् । ‘बुलबुल’ र ‘चिसो मान्छे’पछि ‘लालीबजार’लाई उनले आफ्नो अभिनय यात्राको ‘टर्निङ प्वाइन्ट’का रूपमा लिएकी छन् । उनले यस फिल्मका लागि पहिलोपटक अडिसन दिएर ‘मधुवाला’ पात्रमा आफूलाई ढालेकी हुन् ।

निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्मको पटकथा प्रदीप भट्टराई र यम थापाले संयुक्त रूपमा तयार गरेका छन् । षट्कोण आर्ट्सले तराईको विषयमा फिल्म बनाउने क्रममा भएको छलफलबाट ‘लालीबजार’को कथा छनोट भएको हो ।

निर्माण टिमका अनुसार फिल्मको कथालाई यथार्थपरक बनाउन बर्दियामा पुगेर अनुसन्धान गरिएको थियो । बादी समुदायसँग सम्बन्धित विषय भएकाले पटकथामा विशेष संवेदनशीलता अपनाइएको निर्माण पक्षको भनाइ छ ।

पत्रकार सम्मेलनमा निर्माता म्याक्स दीपेश खत्री, निर्देशक यम थापा, कार्यकारी निर्माता तथा पटकथाकार प्रदीप भट्टराई, कलाकार स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, अभय बराल, गोविन्द सुनार, आशा पौडेल, समाइरा थापा तथा डेब्यु कलाकार विशाल देवकोटा र प्रशंसा सुवेदी सहभागी थिए ।

कलाकार रवीन्द्रसिंह बानियाँले फिल्ममा आफूले नकारात्मक भूमिका निर्वाह गरेको बताए । उनले विषयको गम्भीरता बुझेर फिल्म निर्माण गरिएको उल्लेख गर्दै समाजका यस्ता पात्रहरू अन्त्य हुनुपर्ने धारणा व्यक्त गरे ।

स्वस्तिमा खड्काले फिल्मलाई आफ्नो करियरको महत्त्वपूर्ण मोडका रूपमा लिँदै पात्र निर्माणका लागि बर्दिया पुगेर अनुसन्धान गरेको बताइन् । नयाँ कलाकार विशाल देवकोटा र प्रशंसा सुवेदीले पनि आफ्नो डेब्यु फिल्मप्रति उत्साह व्यक्त गरेका छन् ।

फिल्म आमा–छोरीको सम्बन्धमा केन्द्रित छ । षट्कोण आर्ट्सले यसअघि निर्माण गरेका फिल्मझैं ‘लालीबजार’ले पनि सामाजिक विषयवस्तुलाई सशक्त रूपमा प्रस्तुत गर्ने विश्वास निर्माण टिमको छ ।

Leave a Reply