काठमाडौं । महेश त्रिपाठी र वर्षा सिवाकोटीको शीर्ष भूमिका रहने फिल्म ‘टिका : स्टेटलेस सोल’को प्रदर्शन मिति तय भएको छ । शंकर कार्कीको निर्देशनमा बन्ने फिल्म हरितालिका तीजको अवसर पारेर आगामी भदौ २६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउनेछ ।
फिल्मलाई सुनील मानन्धरले वितरण गर्नेछन् । चाँडै छायांकनमा जाने तयारीमा रहेको फिल्मको कास्टिङ पनि विस्तार हुँदै गएको छ । हालै अभिनेत्री ऋचा शर्मा पनि फिल्ममा अनुबन्धित भएकी छन् ।
विश्वास तिम्सिना (बीटी कान्छा)को पटकथा रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटाको संगीत निर्देशन रहनेछ । भविष्य खड्काले निर्माण गर्ने यस फिल्मको घोषणा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गत फागुन २४ गते गरिएको थियो ।
महिलाको दृष्टिकोणबाट समाजका विभिन्न पक्ष उजागर गर्ने भएकाले फिल्मलाई नारीप्रधान रूपमा प्रस्तुत गरिने निर्माण पक्षले जनाएको छ । मनोरञ्जनसँगै सामाजिक सन्देश दिने अपेक्षा गरिएको फिल्मले दर्शकलाई फरक अनुभव दिने विश्वास लिइएको छ ।
News Filmy Newsportal / Nepal