‘मितज्यू’को ‘भुनभुन माहुरी’ सार्वजनिक, सौगात–दयाहाङ–रुषाको आकर्षक नृत्य

काठमाडौं । आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मितज्यू’को दोस्रो गीत ‘भुनभुन माहुरी’ सार्वजनिक गरिएको छ । निर्माण पक्षले आइतबार ओएसआर युट्युब च्यानलमार्फत गीतको भिडियो रिलिज गरेको हो ।

सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सौगात मल्ल, दयाहाङ राई र रुषा न्यौपानेले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । लोकलयमा आधारित यस गीतले तीन पात्रबीचको मायाप्रेमलाई चित्रण गरेको छ ।

“टाढा भइस नभन त कहिले, तिमीसँगै छु सानु म जहिले” भन्ने भाव गीत र भिडियोमा प्रस्तुत गरिएको छ । गीतमा शब्द तथा संगीत श्रीकृष्ण बम मल्लको रहेको छ भने स्वरमा उनलाई लक्ष्मी मल्लले साथ दिएकी छन् ।

निङ्मा डी लेप्चाको कोरियोग्राफी रहेको भिडियोमा तीनै कलाकारले ऊर्जावान प्रस्तुति दिएका छन् । दोहोरी संस्कृतिलाई समेटेर तयार पारिएको गीत दोहोरी साँझको परिवेशमा छायांकन गरिएको छ ।

ग्रामीण परिवेशमा आधारित फिल्ममा दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरका साथै पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई र खड्गबहादुर पुन मगर लगायत कलाकारको अभिनय रहेको छ । यसै फिल्ममार्फत तेरिया मगरले अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन् ।

अनिल बुढा मगरको निर्देशनमा बनेको फिल्ममा जनक घर्ती मगरको लगानी रहेको छ । जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा लोकेश बज्राचार्यको सम्पादन र शिशिर बिशंखेको छायांकन रहेको छ ।

फिल्मका गीतमा श्रीकृष्ण बम मल्लको संगीत रहेको छ भने स्वरमा मेलिना राई र लक्ष्मी मल्लसमेत छन् । आरआर फिल्म्सले वितरण गर्ने फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ । यसअघि सार्वजनिक ‘गैराघरे काँइली’ गीत पनि दर्शकमाझ लोकप्रिय बनेको थियो ।

Leave a Reply