‘परालको आगो’को अग्रिम टिकट खुल्यो, देशभर १०० भन्दा बढी शो

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘परालको आगो’को अग्रिम टिकट बिक्री खुला गरिएको छ । सोमबारदेखि केही हलमा बुकिङ सुरु भएको थियो भने बुधबार बिहानदेखि देशव्यापी रूपमा उत्साहजनक बुकिङ खुलेको हो ।

हालसम्म फिल्मले देशभर १०० भन्दा बढी शो पाइसकेको छ । दर्शकको चासोलाई मध्यनजर गर्दै हल सञ्चालकहरूले फिल्मलाई उच्च शो दिएका हुन् । भोलिसम्म शो संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

१३५ मिनेट रनटाइम रहेको यस फिल्मले युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ । ट्रेलर र गीतका कारण फिल्मप्रति दर्शकको आकर्षण बढेको निर्माण पक्षले जनाएको छ ।

गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित यस फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतले अभिनय गरेका छन् ।

हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्ममा लगानी सुशील पोखरेलले गरेका छन् । पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका हुन् भने भिएफएक्स समिर मिया र सत्यम रानाले तयार पारेका छन् ।

फिल्मको टिजर तथा ट्रेलर सम्पादन साहिल खानले गरेका छन् । पाश्र्व संगीत किरण तुलाधरको रहेको छ भने संगीतमा शान्ति ठटाल, सत्य–स्वरुप आचार्य र प्रकाश सपुतको योगदान छ । गीतका शब्द मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतले लेखेका छन् ।

सुलभी पोखरेल र सत्यम पोखरेल निर्माता रहेको यस फिल्मलाई नेपालभर आरआर फिल्म्सले वितरण गर्नेछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ । वैशाख ११ गतेदेखि प्रदर्शनमा आउने फिल्मप्रति पछिल्लो समय दर्शकको चासो बढ्दो देखिएको छ ।

Leave a Reply