काठमाडौं । हास्य विधामा स्थापित जोडी कुमार कट्टेल ‘जिग्री ब्रो’ र दीपकप्रसाद आचार्य ‘काकु’को नयाँ फिल्म ‘चिरञ्जीवी भवः’मा अभिनेता आशीर्वाद क्षेत्री अनुबन्धित भएका छन् ।
निर्माण पक्षले बुधबार आशीर्वादलाई फिल्मको मुख्य भूमिकाका लागि अनुबन्ध गरिएको जानकारी दिएको हो ।
यसअघि नै मोडल तथा चर्चित इन्फ्लुएन्सर प्रशंसा रायमाझीले यसै फिल्ममार्फत नेपाली रजतपटमा डेब्यु गर्ने घोषणा भइसकेको छ । गत आइतबार निर्माण टिमले पोस्टरमार्फत उनलाई फिल्ममा स्वागत गरेको जनाएको थियो ।
आशीर्वाद फिल्ममा प्रशंसाको जोडीका रूपमा देखिने हुन् वा होइनन् भन्नेबारे भने निर्माण टिमले खुलाएको छैन ।
फिल्मको औपचारिक घोषणा नयाँ वर्ष २०८३ को अवसर पारेर गरिएको थियो । दीपकप्रसाद आचार्यको निर्देशन रहने फिल्मको कथा कुमार कट्टेलले तयार पारेका हुन् भने लेखनमा सविन अधिकारी र बसन्त न्यौपाने रहेका छन् ।
सामाजिक ड्रामा जनरामा निर्माण हुने ‘चिरञ्जीवी भवः’ले दुई पुस्ताबीचको वैचारिक भिन्नता र सम्बन्धको कथालाई मुख्य विषयवस्तु बनाएको छ । लेखक कुमार कट्टेलका अनुसार फिल्मको कथा समकालीन परिवेशमा आधारित छ ।
उमेश कुमार बराल निर्माता रहेको फिल्मका कार्यकारी निर्माता कुमार कट्टेल र शैलेश खत्री रहेका छन् ।
‘चिरञ्जीवी भवः’ दीपकप्रसाद आचार्यको दोस्रो निर्देशकीय फिल्म हो । यसअघि उनले निर्देशन गरेको ‘परान’ वि.सं. २०८२ सालको सर्वाधिक कमाउने फिल्म बनेको थियो भने कुमार कट्टेलको निर्देशन तथा अभिनय रहेको ‘लाज शरणम्’ले पनि व्यावसायिक सफलता हासिल गरेको थियो ।
आशीर्वाद क्षेत्रीको प्रवेशसँगै फिल्मको कास्टिङ थप बलियो बनेको छ । फिल्मको छायांकनका लागि बाँकी कलाकार तथा प्राविधिक टोली छनोट गर्ने काम जारी रहेको निर्माण पक्षले जनाएको छ ।
News Filmy Newsportal / Nepal