‘लाइफ ड्यामेज’को गीत सार्वजनिक, जेठ १ मा प्रदर्शन हुँदै

काठमाडौं । ‘फेन्टासी कमेडी ड्रामा’ विधामा निर्माण भएको फिल्म ‘लाइफ ड्यामेज’मा समावेश नयाँ गीत सार्वजनिक गरिएको छ । जेठ १ गते प्रदर्शन मिति तय गरिएको यस फिल्मको गीत राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत रिलिज गरिएको हो ।

सार्वजनिक डान्सिङ नम्बरमा एसडी योगीको संगीत, आदर्श सुशीलको शब्द, तथा एसडी योगी र रेश्मा पुनको स्वर रहेको छ । गीतको भिडियोको कोरियोग्राफी किरण थापाले गरेका हुन् ।

केही वर्षयता कन्टेन्ट क्रियटरका रूपमा परिचित निमेष श्रेष्ठले यस फिल्ममार्फत निर्देशनमा डेब्यु गरेका छन् । उनले अभिनेत्री सुरक्षा पन्तसँग स्क्रिन सेयर समेत गरेका छन् ।

फन रिभोलुसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा सुरक्षा पन्त र निमेष श्रेष्ठका साथै ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनीश जंग थापा, अजय पन्त, सविन बास्तोला र निरु खड्का लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

फिल्मको कथा निमेष श्रेष्ठ, ईशा थापा र अभिषेक खरेलले संयुक्त रूपमा लेखेका हुन् । पहिलोपटक निर्देशनमा हात हालेका श्रेष्ठले ‘लाइफ ड्यामेज’ दर्शकका लागि मनोरञ्जनात्मक र फरक स्वादको ‘फेन्टासी कमेडी ड्रामा’ हुने बताएका छन् ।

कार्यक्रममा बोल्दै निर्देशक श्रेष्ठले फिल्म हेर्दासम्म रमाइलो लाग्ने र दर्शकको मन जित्नेमा आफू ढुक्क रहेको बताए । अभिनेत्री सुरक्षा पन्तले फिल्मको आइडिया मन परेकै कारण आफूले काम गरेको बताइन् ।

फिल्ममा प्रवीण खड्काको छायांकन र बिकेन कार्कीको सम्पादन रहेको छ । देशव्यापी वितरणको जिम्मा बटरफ्लाई फिल्म्सले लिएको छ । लामो समयदेखि हलिउड फिल्महरूको वितरण गर्दै आएको बटरफ्लाई फिल्म्सले अब निरन्तर नेपाली फिल्मको वितरण पनि गर्ने कम्पनीका प्रमुख जेनिष पहारीले जानकारी दिए ।

गीतको भिडियो फन रिभोलुसनको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

 

Leave a Reply