‘सारथी’ फिल्मको शुभमुहूर्त, गुर्जा खानीमा ४० दिने छायांकन सुरु हुने

काठमाडौं । कुमार गजुरेलको डेब्यु निर्देशनमा निर्माण हुने फिल्म ‘सारथी’को शुभमुहूर्त गरिएको छ । सोमबार काठमाडौंस्थित भद्रकाली मन्दिरमा पूजा गर्दै फिल्मको औपचारिक शुभारम्भ गरिएको हो । शुभमुहूर्तसँगै छायांकन टोली म्याग्दीको गुर्जा खानीतर्फ प्रस्थान गरेको छ ।

वैशाख ९ गते बुधबारदेखि गुर्जा खानी आसपासका रमणीय स्थानमा करिब ४० दिनसम्म फिल्मको छायांकन गरिने निर्देशक गजुरेलले जानकारी दिए ।यो फिल्मबाट वरिष्ठ सम्पादक तारा थापा ‘किम्भे’ निर्माता बनेका छन् । करिब तीन दशक लामो सम्पादन अनुभवलाई प्रयोग गर्दै दर्शकलाई उत्कृष्ट कथा प्रस्तुत गर्ने उद्देश्यले आफू निर्माणमा आएको निर्माता थापाले बताए ।

किम्भे प्रोडक्सन तथा धीरज इन्फिनिटी फिल्मस्‌को सहकार्यमा निर्माण हुन लागेको ‘सारथी’मा कलाकार उत्तम प्रधान र निरुता सिंहको जोडी करिब दुई दशकपछि पुनः एकसाथ देखिँदैछन् । यसले दर्शकमाझ थप उत्सुकता बढाउने निर्माण टिमको विश्वास छ । अभिनेत्री सिंह शुभमुहूर्त कार्यक्रममा उपस्थित थिइन् भने उत्तम प्रधान वैशाख १५ गते नेपाल आएर सिधै छायांकनमा सहभागी हुने तयारीमा छन् ।

शुभमुहूर्त कार्यक्रममा वरिष्ठ सिनेमाकर्मी लक्ष्मीनाथ शर्मा, प्रकाश सायमी र मन्जुनाथ श्रेष्ठ विशेष अतिथिका रूपमा सहभागी थिए । साथै नेपाल छन्त्याल संघका पूर्व महासचिव तथा वर्तमान सल्लाहकार दीपबहादुर छन्त्यालको पनि उपस्थिति रहेको थियो ।

फिल्ममा उत्तम र निरुतासहित मुकुन्द श्रेष्ठ, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई र आशा विश्वकर्मालगायतका कलाकारको अभिनय रहनेछ ।

सौर्यल थापा निर्माता रहेको फिल्मका कार्यकारी निर्माता रदिप श्रेष्ठ र प्रदिप रायमाझी छन् भने लाइन प्रोड्युसरमा अमीर केसी र निर्देशक गजुरेल स्वयं रहेका छन् ।

Leave a Reply