‘परालको आगो’मा प्रकाश सपुतको सशक्त अभिनय, ‘चामे’ पात्रमा फरक रूप

काठमाडौं । नेपाली दर्शक तथा स्रोतामाझ परिचित नाम प्रकाश सपुत गायनसँगै अभिनयमा पनि स्थापित हुँदै गएका छन् । उनले अभिनय गरेका ‘परदेशी २’, ‘पुर्ण बहादुरको साराङ्गी’ र ‘माइतीघर’ जस्ता फिल्म दर्शकमाझ लोकप्रिय बनेका छन् ।

अभिनयमा फरक क्यारेक्टरको खोजीमा रहेका सपुत अब नयाँ फिल्म ‘परालको आगो’मा ‘चामे’ पात्रमार्फत सशक्त रूपमा प्रस्तुत भएका छन् । यो भूमिकालाई लिएर उनी स्वयं पनि निकै आशावादी देखिन्छन् । फिल्मको ट्रेलरमा उनको अभिनय क्षमता प्रभावशाली देखिन्छ ।

फिल्ममा उनले श्रीमान–श्रीमतीबीचको सम्बन्ध र मनोविज्ञान झल्काउने पात्र निर्वाह गरेका छन् । एक दृश्यमा श्रीमती माइत जाँदा भैँसीमाथि रिस पोख्नुपर्ने दृश्यबारे उनले रोचक अनुभव सुनाएका छन् । उनले उक्त दृश्य अभिनय गर्न सुरुवातमा असहज महसुस गरेको र सहअभिनेत्री सुहाना थापाबाट त्यसलाई स्वाभाविक बनाउने तरिका सिकेको बताए ।

“मैले भैँसी कुट्नुपर्ने सिन थियो, तर म सकिरहेको थिइनँ,” उनले सुटिङ सम्झँदै भने, “सिन पनि आउने र जनावरलाई पनि केही नहोस् भन्ने कुरामा अलि अप्ठ्यारो भयो । त्यो कुरा सुहानाले सिकाउनुभयो ।”

सपुतका अनुसार ‘परालको आगो’ भन्नासाथ श्रीमान–श्रीमतीबीचको द्वन्द्व र सम्बन्धको कथा दर्शकले बुझ्नेछन् । यही वैशाख ११ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्ममा सपुतसँगै सुहाना थापा, सौगात मल्ल, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँको अभिनय रहेको छ ।

हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्ममा सुशील पोखरेलको लगानी छ भने पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन् । लक्ष्मण सुनारले निर्देशन गरेको फिल्ममा संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

फिल्मको पाश्र्व संगीत किरण तुलाधरले तयार पारेका छन् भने संगीतमा शान्ति ठटाल, सत्य–स्वरुप आचार्य र स्वयं प्रकाश सपुतको योगदान रहेको छ । गीतका शब्द मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतले लेखेका छन् ।

नेपालभर फिल्मको वितरण आरआर फिल्मसले गर्नेछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ । गुरुप्रसाद मैनालीको ‘नासो’ कथा सङ्ग्रहमा समावेश ‘परालको आगो’ कथाबाट प्रेरित भएर बनेको यस फिल्मलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

Leave a Reply