इन्फ्लुएन्सर प्रशंसा रायमाझी फिल्म ‘चिरञ्जीवी भवः’बाट डेब्यु गर्दै

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल र मोडलिङ क्षेत्रमा लोकप्रिय इन्फ्लुएन्सर प्रशंसा रायमाझी नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्ने भएकी छन् ।

चर्चित हास्य कलाकार तथा निर्देशकद्वय कुमार कट्टेल ‘जिग्री ब्रो’ र दीपकप्रसाद आचार्य ‘काकु’को संयुक्त सहकार्यमा निर्माण हुन लागेको फिल्म ‘चिरञ्जीवी भवः’बाट उनले अभिनेत्रीका रूपमा आफ्नो फिल्मी यात्रा सुरु गर्न लागेकी हुन् ।

यस फिल्मको औपचारिक घोषणा नयाँ वर्ष २०८३ को अवसर पारेर गरिएको थियो । लामो समयदेखि टेलिभिजनमा ‘भद्रगोल’ र ‘सक्किगो नि’ जस्ता हिट सिरिजमार्फत दर्शकको मन जित्दै आएका जिग्री र काकुको सहकार्यलाई फिल्म वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

फिल्म ‘चिरञ्जीवी भवः’ सामाजिक ड्रामा जनरामा निर्माण हुनेछ । कुमार कट्टेलका अनुसार फिल्मको कथा दुई पुस्ताबीचको वैचारिक भिन्नता र सम्बन्धमा केन्द्रित रहनेछ । दीपकले निर्देशन गर्ने फिल्मको कथा कुमारकै रहेको छ भने सविन अधिकारी र बसन्त न्यौपानेले लेखनमा साथ दिएका छन् ।

यसअघि दीपकप्रसाद आचार्य निर्देशित फिल्म ‘परान’ २०८२ सालको सर्वाधिक कमाउने फिल्म बनेको थियो । त्यस्तै, कुमार कट्टेलको निर्देशन तथा अभिनय रहेको ‘लाज शरणम्’ले पनि व्यावसायिक सफलता हासिल गरेको थियो।

हाल फिल्मको स्क्रिप्टको अन्तिम ड्राफ्टमा काम भइरहेको छ । निर्माण पक्षका अनुसार आगामी डेढदेखि दुई महिनाभित्र छायांकन सुरु गर्ने तयारी छ ।

करिब ८ वर्षदेखि सहकार्य गर्दै आएका जिग्री र काकुको ‘ड्रिम प्रोजेक्ट’का रूपमा रहेको ‘चिरञ्जीवी भवः’ले नेपाली फिल्ममा नयाँ स्वाद दिने अपेक्षा गरिएको छ । साथै, प्रशंसा रायमाझीको डेब्युले युवा दर्शकको आकर्षण थप बढाउने विश्वास गरिएको छ ।

Leave a Reply