काठमाडौं । गणेश देव पाण्डेको निर्देशनमा बनेको नेपाली फिल्म ‘पारी बुटोले’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा फिल्मका प्रमुख पात्रहरूलाई उनीहरूको लुक्स र चरित्रसहित प्रस्तुत गरिएको छ, जसले यो फिल्म ग्याङ्स्टर जनरामा आधारित रहेको संकेत गर्छ ।
टिजरमा कलाकारहरूको अभिनय, महेश पौडेलको छायांकन, जटावेदा बेनर्जीको ब्याकग्राउन्ड म्युजिक र र्यापर भ्योमाको गीतले सशक्त संयोजन प्रस्तुत गरेको छ । निर्देशक पाण्डेका अनुसार ‘पारी बुटोले’ केवल ग्याङ्स्टर फिल्म मात्र नभई युवाहरू, उनीहरूको परिवार, जीवन संघर्ष र सफलताको दौडमा भोग्नुपर्ने अवस्थालाई चित्रण गर्ने कथा हो ।
बुटवलका वास्तविक स्थानहरूमा छायांकन गरिएको फिल्मले त्यहाँको वातावरणलाई यथार्थपरक रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छ । फिल्मका पात्रहरू स्थानीय मानिसहरूको जीवनशैली र अनुभवबाट प्रेरित रहेको बताइएको छ, जसले कथालाई अझै जीवन्त बनाउने निर्माण टिमको विश्वास छ ।
पात्रहरूलाई विश्वसनीय बनाउन करिब एक हजार कलाकारबाट अडिसन लिइएको थियो । छनोट भएका कलाकारलाई करिब छ महिना अभिनय प्रशिक्षण र एक महिना एक्सन वर्कसप गराएपछि मात्र छायांकन सुरु गरिएको निर्माण पक्षले जनाएको छ ।
ल्याक्सी श्रेष्ठको निर्माणमा बनेको फिल्ममा मनीषा अधिकारी सह–निर्माताको रूपमा रहेकी छन् । फिल्ममा अनुप बराल, दिया मास्के, कामेश्वर चौरासिया, दिव्य देव, सुवर्ण थापा, निरिक्षा घतानी, तुफान थापा, अविरल प्रताप अधिकारी, किरण श्रेष्ठ, सुयोग तिमल्सिना, सुशील सिटौला र विक्रम श्रेष्ठलगायत कलाकारहरूको अभिनय रहेको छ ।
फिल्ममा एनबी महर्जनको एक्सन, लोकेश बज्राचार्यको सम्पादन, मनिता सुन्दासको कला निर्देशन र रोहित बरालको लोकेसन साउन्ड रहेको छ भने पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेनले गरेका छन् ।
यथार्थ धरातलमा आधारित ‘पारी बुटोले’ले नेपाली दर्शकमाझ फरक छाप छोड्ने अपेक्षा गरिएको छ।
News Filmy Newsportal / Nepal