‘महाराजधिराज’मा पूजा शर्माको इन्ट्री, पुष्प–केकीसँग स्क्रिन शेयर

काठमाडौं । निर्माणको चरणमा रहेको फिल्म ‘महाराजधिराज’मा अभिनेत्री पूजा शर्माको इन्ट्री भएको छ । निर्माणपक्षले उनलाई मुख्य भूमिकामा अनुबन्ध गरेको हो ।

यसअघि केकी अधिकारी अनुबन्ध भइसकेपछि निर्माण टिमले कमर्सियल नायिकाको छवि बनाएकी पूजा शर्मालाई भित्र्याएको हो । यही साता अभिनेता हेमन्त बुढाथोकी पनि फिल्ममा जोडिएका छन् । कलाकार अनुबन्ध गर्ने क्रम अन्तिम चरणमा पुग्दै गर्दा फिल्मको लाइनअप थप बलियो बन्दै गएको देखिन्छ ।

यसअघि नयाँ वर्षको अवसर पारेर फिल्मको मुख्य भूमिकामा पुष्प खड्का अनुबन्धित भएका थिए । निर्माणपक्षले पोस्टर सार्वजनिक गर्दै उनको इन्ट्रीबारे जानकारी दिएको थियो ।

पिरियड ड्रामाको झल्को दिने यो फिल्म वैशाखको दोस्रो सातापछि छायांकनमा जाने तयारीमा छ । परिच्छेद सेनको निर्देशनमा बन्न लागेको फिल्ममा पुष्प, पूजा र केकीसँगै नीर शाह, आर्यन सिक्देल, रमेश उप्रेती, उषा रजक, हिउँबाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी, गजित विष्ट, आशा पौडेललगायत कलाकारको अभिनय रहनेछ ।

निर्देशक सेनको ड्रिम प्रोजेक्टका रूपमा रहेको ‘महाराजधिराज’मा करिब ८० जना कलाकारको सहभागिता रहने बताइएको छ । पुराना र नयाँ पुस्ताका कलाकारको संयोजन देखाउन निर्माण टिमले स्टारकास्ट विस्तार गरेको हो ।

फिल्मका प्रस्तुतकर्ता विराज विष्टले बलियो कलाकार लाइनअपअनुसार फिल्म पनि प्रभावशाली बन्ने विश्वास व्यक्त गरेका छन् । छायांकन सुनसरीको श्रीलंका टापुबाट सुरु हुने र त्यसपछि काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक स्थानमा गरिने जनाइएको छ ।

छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा निर्देशक सेनकै लेखन रहेको छ । फिल्मका निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट रहेका छन् ।

निर्माण टिमका अनुसार ‘महाराजधिराज’लाई आगामी बडादशैंको फूलपातीको अवसर पारेर देशव्यापी प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

Leave a Reply