रेखा थापाको फिल्ममा लिल झोलाको इन्ट्री, संगीतदेखि अभिनयसम्म सहकार्य

काठमाडौँ। जेन–जी पुस्ताका चर्चित र्‍यापर लिल झोला अभिनेत्री रेखा थापासँग नयाँ फिल्मका लागि सहकार्य गर्ने भएका छन् । रेखाले बिहीबार सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएकी हुन् ।

आगामी जेठ २० गतेदेखि छायांकनमा जाने अनटाइटल फिल्मलाई ‘कमेडी दरबार’ फेम्ड निर्देशक श्रद्धा प्रसाइँले निर्देशन गर्नेछिन् । फिल्ममा लिल झोलाले केही गीत कम्पोज गर्नेछन् । साथै अभिनय र अन्य विधामा पनि उनको सहभागिता रहने जनाइएको छ ।

रेखाले भनेकी छन्, “हामीबीच संगीतसहित फिल्ममा सहकार्य हुँदैछ । मैले पनि र्‍याप गाउँदैछु ।” उनले चाँडै शुभसाइत पूजा गर्दै फिल्मबारे विस्तृत जानकारी सार्वजनिक गरिने जानकारी दिएकी छन् ।

रेखा फिल्म्सको ब्यानरमा निर्माण हुने यस फिल्ममार्फत लिल झोलाले पाश्र्वगायनमा डेब्यु गर्नेछन् ।

रेखाले ‘अनुमान गर्नूस, के चाँडै आउँदैछ’ क्याप्सनसहित लिल झोलासँगको तस्बिर सार्वजनिक गरेकी छन् ।

वास्तविक नाम आकाश क्षेत्री रहेका लिल झोला समकालीन नेपाली हिप–हप क्षेत्रमा चर्चित कलाकार हुन् । उनी अन्डरग्राउन्ड संगीतबाट उदाएका र आफ्नै शैलीमा प्रस्तुति दिने कलाकारका रूपमा चिनिन्छन् ।

उनको संगीतमा शहरी जीवन, युवापुस्ताको सोच, व्यक्तिगत अनुभव र सामाजिक यथार्थ झल्किन्छ । आधुनिक बीट र हिप–हप शैलीका कारण उनका गीतहरू युवामाझ लोकप्रिय बन्दै आएका छन् ।

सामाजिक सञ्जालमा उनका गीतहरू भाइरल हुने क्रमले पनि उनको प्रभाव बढ्दो देखिन्छ ।

Leave a Reply