सुन्दर खनालको नयाँ हास्य शो ‘कमेडी बाज’, टिजर सार्वजनिक

काठमाडौँ।  ‘कमेडी दरबार’बाट चर्चामा आएका कमेडियन सुन्दर खनालले नयाँ हास्य शो ‘कमेडी बाज’ ल्याउने भएका छन् । उनले टिजर सार्वजनिक गर्दै शोबारे प्रारम्भिक जानकारी दिएका हुन् ।

सार्वजनिक टिजरमा एक्सन शैलीलाई प्राथमिकता दिइएको देखिन्छ । यद्यपि शोको पूर्ण फर्म्याटबारे भने निर्माण पक्षले विस्तृत जानकारी दिएको छैन ।

बुझिएअनुसार ‘कमेडी बाज’ रोस्टिङ शैलीको शो हुनेछ, जहाँ विभिन्न क्षेत्रका पाहुनालाई निमन्त्रणा गरेर कमेडी प्रस्तुति दिइनेछ । शोबारे सुन्दर खनालले भनेका छन्, “शोको मूल अवधारणा ‘ब्याटल’ फर्म्याटमा आधारित छ । अहिलेका लागि यत्ति भनौँ, बाँकी कुरा एपिसोडमै देखाउनेछौँ ।”

सुन्दरका अनुसार शो इमेल टेलिभिजन र ‘सुन्दर खनाल’ युट्युब च्यानलमार्फत प्रसारण हुनेछ ।

टिजरमार्फत शोका होस्टका रूपमा सुन्दर खनाल र आरती थापालाई सार्वजनिक गरिएको छ । साथै पवन खतिवडा (म्याकुरी), विश्वास तिमल्सिना (बीटी कान्छा), सरोज भण्डारी, सीता न्यौपाने, सुसान्त बस्याल, आशिष न्यौपाने र निश्चल अर्याललगायत कमेडियनको सहभागिता रहनेछ ।

शो आगामी वैशाख दोस्रो सातादेखि प्रसारण हुने जनाइएको छ ।

‘कमेडी बाज’मा देखिने अधिकांश कमेडियन ‘कमेडी दरबार’सँग आबद्ध रहेका छन् । यसबारे उनीहरूले दुवै शोमा आफ्नो सहभागिता रहने स्पष्ट पारेका छन् ।

Leave a Reply