काठमाडौं । लाइनअपका कारण चर्चामा रहेको फिल्म ‘पाँच पाण्डव’ले रिलिज डेट लक गरेको छ । ‘पाँच पाण्डव’ तिहारमा रिलिज हुने भएको छ । तिहारको बिदालाई लक्षित गर्दै फिल्म ‘पाँच पाण्डव’ दर्शकमाझ आउन लागेको हो ।
डेट लक भएसँगै यो फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्ने भएको छ । प्रस्तुतकर्ता नवीन श्रेष्ठले राम्रो दिनमा प्रदर्शन मिति घोषणा गरिएको बताए । श्रेष्ठ भन्छन्, ‘वितरक टिमसँगको सहल्लाहमा नै प्रदर्शन मिति घोषणा गरेका हौं । राम्रो मिति रोजेकाले व्यापार पनि राम्रो हुन्छ भन्नेमा विश्वास छौं ।’
फिल्म वितरणको जिम्मा लिएका आरआर फिल्मस्का रोहित कट्टेलले ‘पाँच पाण्डव’लाई लिएर आफूहरू निकै उत्साहित रहेको बताएका छन् ।
वितरणका बारेमा आफ्नो धारणा राख्दै कट्टेलले भने, ‘हामीले फिल्मको कन्टेन्ट र यसमा रहेका कलाकारहरूको बलियो लाइनअप हेरेर नै वितरणको जिम्मा लिएका हौं । तिहार जस्तो ठूलो चाडमा दर्शकले खोज्ने भनेकै पूर्ण मनोरञ्जन हो, जुन यो फिल्मले दिनेछ । ‘पाँच पाण्डव’ व्यावसायिक र कलात्मक दुवै हिसाबले सफल हुनेमा हामी विश्वस्त छौं, त्यसैले हामीले यो उत्कृष्ट मिति रोजेका हौं ।’
विषय, कलाकार, निर्माण टिम र प्राविधिक पक्ष बलियो बनाउने तयारीका कारण यो फिल्म प्रतिक्षित पनि बनेको छ । फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला मुख्य ‘पाँच पाण्डव’को भूमिकामा छन् ।
दीपाश्री निरौला, सरिता गिरी, बिनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, मोडल इभा गिरीलगायत मुख्य भूमिका रहने छन् ।काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस फिल्मलाई निर्देशक वसन्त निरौलाले निर्देशन गरिरहेका छन् । चैत २ गते नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टाबाट शुभमुहूर्त गर्दै छायांकन थालिएको यस फिल्ममा नेपाली सिने जगतका दिग्गज र नयाँ पुस्ताका चर्चित कलाकारहरूले एकसाथ काम गरिरहेका छन् ।
फिल्म ‘पाँच पाण्डव’ ‘सोसल ड्रामा’ भएको लेखक सुशील पौडेलले स्पष्ट पारेका छन् । कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ । उनका अनुसार फिल्मले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ ।
नवीन श्रेष्ठले यसअघि गतवर्ष फिल्म ‘लाज शरणम्’ निर्माण गरेका थिए । फिल्मको निर्माण काली रानी श्रेष्ठले गरिरहेकी छिन् । फिल्मको अधिकांश दृश्यहरू झापाका रमणीय र महत्वपूर्ण स्थानहरूमा खिचिनेछ भने बाँकी छायांकन काठमाडौं उपत्यकाका स्थानमा खिचिने निर्माण टिमको भनाइ छ ।
‘पाँच पाण्डव’को यतिबेला झापा स्थित एचएमसी न्यू हिकोला होटलको भव्य इन्टेरियर दृश्य खिचिँदै छ । उक्त स्थानको काम सकिएपछि टोलीले अन्य स्थानको लागि यात्रा तय गर्ने निर्देशक निरौलाले बताए ।
यो फिल्मलाई श्याम तामाङले खिचिरहेका छन् । फिल्मको वितरण आरआर फिल्मसले गर्नेछ ।
News Filmy Newsportal / Nepal