काठमाडौँ। निर्देशक माओत्से गुरुङ को निर्देशनमा निर्माण भएको फिल्म पेन्सन पट्टा को प्रदर्शन मिति घोषणा गरिएको छ। नयाँ वर्ष २०८३ को अवसरमा सार्वजनिक टाइटल पोस्टरसँगै फिल्म आगामी भदौ २६ गते, हरितालिका तीजको अवसर पारेर देशव्यापी प्रदर्शनमा आउने जनाइएको हो।
निर्देशक गुरुङका अनुसार अभिनेता दयाहाङ राई को जन्मदिनसमेत पर्ने दिनमा मिति घोषणा गरिएको हो। ‘राम्रो मिति रोजेका छौं, व्यापार पनि राम्रो हुने अपेक्षा छ,’ उनले भने।
फिल्ममा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, लुनिभा तुलाधर लगायत कलाकारको अभिनय रहेको छ।
माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन्। भूतपूर्व लाहुरेको कथाजस्तो देखिए पनि लोभी युवक कसरी दानी बन्छ भन्ने कथावस्तुमा आधारित रहेको निर्माण पक्षको भनाइ छ।
फिल्मको छायांकन सुशन प्रजापति ले गर्नेछन् भने सम्पादन सुरेन्द्र पौडेल को रहेको छ। आरआर फिल्मस्ले देशव्यापी वितरण गर्ने जनाइएको छ।
News Filmy Newsportal / Nepal