रत्यौली घोषणा, पहिलो पटक पर्दामा पूजा शर्मा र विजय बरालको जोडी

काठमाडौं । नयाँ वर्ष २०८३ को पहिलो दिन अभिनेत्री पूजा शर्माले नयाँ चलचित्र रत्यौली निर्माणको घोषणा गरेकी छन्। नाइटिङ्गेल इन्टरटेन्मेन्ट प्रा.लि. र पूजा शर्मा प्रोडक्सनको संयुक्त निर्माणमा फिल्म तयार हुने भएको हो।

फिल्ममा पहिलो पटक पर्दामा पूजा शर्मा र अभिनेता विजय बरालको जोडी बाँधिने पक्का भएको छ। यो जोडीले पहिलो पटक सँगै काम गर्न लागेका हुन्, जसलाई निर्माण पक्षले फिल्मको मुख्य आकर्षणका रूपमा प्रस्तुत गरेको छ।

मुस्कान ढकालको निर्देशनमा बन्ने फिल्मको निर्माण सुरज आचार्यले गर्नेछन्। आचार्य लामो समयदेखि फिल्म क्षेत्रसँग जोडिएका अनुभवी प्रोडक्सन डिजाइनर हुन्। उनले उचाई, फर्जी, मिराई, टिसोन नाइडु र दश का दम जस्ता प्रोजेक्टमा पनि काम गरिसकेका छन्।

३२ वर्षदेखि फिल्म क्षेत्रमा सक्रिय आचार्यले यसअघि मेरो लभ स्टोरी र कर्मयोद्धामा सह–निर्माता तथा वरमालामा निर्माता रूपमा काम गरिसकेका छन्।

सार्वजनिक पोस्टरमा पूजा शर्मा र विजय बराललाई ‘रत्यौली’ शैलीमा नाचिरहेको देखाइएको छ। पूजा शर्माले दौरा–सुरुवाल र नेपाली टोपी लगाएको देखिन्छ भने पोस्टरमा हास्यात्मक रूपमा जुँगा समेत राखिएको छ, जसले फिल्म रमाइलो शैलीको हुने संकेत गर्छ।

फिल्मको कथावस्तुबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन। तर पहिलो पटक पर्दामा देखिन लागेका पूजा र विजयको जोडीप्रति दर्शकमाझ विशेष चासो बढेको छ।

Leave a Reply