‘माया भनेकै यस्तो होला’ को छायांकन सकियो, ८ वर्षपछि निर्देशनमा फर्किइन् रेखा थापा

काठमाडौं । अभिनेत्री रेखा थापा निर्देशित फिल्म ‘माया भनेकै यस्तो होला’ को छायांकन सकिएको छ। २७ दिनमा आइतबार फिल्मको सुटिङ टुंगिएको हो।

‘हिम्मतवाली’ र ‘मालिका’ निर्देशन गरिसकेकी रेखा ८ वर्षपछि पुनः निर्देशनमा फर्किएकी हुन्। यो उनको तेस्रो निर्देशकीय फिचर फिल्म हो।

‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भएको फिल्ममा नेपाली फिल्म क्षेत्रका दिग्गजदेखि समकालीन चर्चित कलाकारहरूको जम्बो उपस्थिति रहेको छ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ र दिल श्रेष्ठसँगै पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ तथा मिस नेपाल इन्टरनेसनल नीति शाह मुख्य भूमिकामा छन्। विशेष भूमिकामा पूर्वमिस नेपाल उषा खड्गी पनि देखिनेछिन्। यस हिसाबले फिल्ममा एकैपटक चार मिस नेपालको उपस्थिती रहनेछ।

अन्य कलाकारमा लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेललगायत छन्।हरिनारायण श्रेष्ठ र मायादेवी श्रेष्ठ निर्माता रहेको फिल्मले प्रेमकथामार्फत सामाजिक भावनालाई प्रस्तुत गर्ने निर्माण टिमले जनाएको छ।

ध्रुव लम्सालको पटकथा रहेको फिल्ममा सुदीप बरालको छायांकन छ। अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे संयोजकका रूपमा रहेका छन्। फिल्ममा प्रशान्त सिवाकोटीको संगीत, सुजेनी मल्लको वेशभूषा, प्रिया कार्कीको मेकअप तथा चुडामणि (सीएम) को प्रोडक्सन रहेको छ।

फिल्म आगामी तीज पर्वको अवसर पारेर प्रदर्शनमा आउने जनाइएको छ।

Leave a Reply