काठमाडौं । सञ्चारकर्मी जीपी तिमल्सिनाविरुद्ध उनकी पूर्वपत्नी तथा पूर्वमिस नेपाल एवं अभिनेत्री उषा खड्गीले जिल्ला प्रहरी परिसर भक्तपुरमा सोमबार जाहेरी दिएकी छन्।
परिसरका डीएसपी प्रकाश जबेगुका अनुसार खड्गीले तिमल्सिनाविरुद्ध अभद्र व्यवहार, धम्की तथा कुटपिटको प्रयासजस्ता आरोपसहित उजुरी दिएकी हुन्। उनले दिएको उजुरी दर्ता भइसकेको र आवश्यक प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
यसअघि गत चैत १७ गते खड्गीले फेसबुकमार्फत आफूलाई सुरक्षा आवश्यक भएको उल्लेख गर्दै राज्यसँग न्यायको माग गरेकी थिइन्। उनले श्रृंखलाबद्ध स्टाटसमार्फत शान्ति–सुरक्षाको माग गर्दै उजुरी दिने संकेतसमेत गरेकी थिइन्।
खड्गीले अंशवण्डाको विषय उठाउँदै आफूले न्याय पाउनुपर्ने र व्यक्तिगत जीवनमा हस्तक्षेप हुन नहुने उल्लेख गरेकी थिइन्।
२०७९ जेठ २६ गते काठमाडौं जिल्ला अदालतबाट खड्गी र तिमल्सिनाबीच सम्बन्धविच्छेद भएको थियो।
सम्बन्धविच्छेद भएको करिब ६ महिनापछि, अंशवण्डा टुंगो नलाग्दै, तिमल्सिनाले सोही वर्ष मंसिर १९ गते सविना अधिकारीसँग दोस्रो विवाह गरेका थिए।
News Filmy Newsportal / Nepal