सर्लाहीमा हुने भयो ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’

काठमाडौं । ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (NERUFF) को पाँचौँ संस्करण आगामी वर्षको बैशाख १५ देखि १७ गतेसम्म सर्लाहीमा आयोजना हुने भएको छ।

 

नेपाली मौलिक ग्रामीण कथावस्तुमा आधारित चलचित्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको महोत्सव यसपटक मधेश प्रदेशको सर्लाही जिल्लास्थित चन्द्रनगर गाउँपालिकामा आयोजना गरिनेछ।

 

महोत्सव आयोजनाबारे चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो र आयोजक संस्था सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटाबीच छलफल भई तयारी कार्य अघि बढाइएको जनाइएको छ।

 

“हिमाल, पहाड, तराई—कोही छैन पराइ” भन्ने मूल नारासहित सञ्चालन हुँदै आएको महोत्सव यसअघि पहाडी क्षेत्रमा सम्पन्न हुँदै आएको थियो। यसपटक भने तराई क्षेत्रमा विस्तार गर्दै स्थानीय दर्शक, सर्जक र समुदायलाई समेट्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

 

गाउँ–गाउँमा सिनेमा पुर्‍याउने अभियानस्वरूप सुरु गरिएको महोत्सवले ग्रामीण परिवेशका कथा, भाषा, संस्कृति र जीवनशैलीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै आएको छ।

 

महोत्सवका लागि फिचर, सर्ट तथा विभिन्न भाषाभाषी फिल्म गरी ५० भन्दा बढी आवेदन प्राप्त भएका छन्। तीमध्ये निर्णायक मण्डलले छनोट गरेका चलचित्रहरू महोत्सवमा प्रदर्शन गरिनेछन् भने उत्कृष्ट फिल्मलाई विभिन्न विधामा पुरस्कृत गरिनेछ।

 

महोत्सवअन्तर्गत ग्रामीण परिवेश झल्किने छोटा चलचित्र, डकुमेन्ट्री र फिचर फिल्म गाउँमै निशुल्क प्रदर्शन गरिनेछ। साथै, अन्तरक्रिया तथा संवाद कार्यक्रमहरू पनि समावेश गरिने आयोजकले जनाएको छ।

 

अध्यक्ष सापकोटाका अनुसार महोत्सवको उद्देश्य नेपाली मौलिक चलचित्रप्रति दर्शकको आकर्षण बढाउनु, ग्रामीण कथामा आधारित सिनेमालाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउनु तथा स्थानीय भाषा, कला, संस्कृति र पर्यटनको प्रवर्द्धन गर्नु हो।
यसअघि महोत्सव गोरखाको लाप्राक, काभ्रेपलाञ्चोकको भकुण्डेबेसी, रामेछाप र रसुवामा सम्पन्न भइसकेको छ। यसपटक मधेश प्रदेशमा आयोजना हुन लागेको महोत्सवलाई विशेष रूपमा हेरिएको छ।

 

महोत्सव चलचित्र विकास बोर्ड र चन्द्रनगर गाउँपालिकाको सहकार्यमा आयोजना हुनेछ।

Leave a Reply