काठमाडौं । नेपाली फिल्म उद्योगमा ‘विश्वासिलो निर्माता’को पहिचान बनाएका सुशील पोखरेल लामो अन्तरालपछि पुनः फिल्म निर्माणमा फर्किएका छन्। करिब ७ वर्षपछि उनले ‘परालको आगो’मार्फत कमब्याक गरेका हुन्।
उनको नयाँ फिल्म ‘परालको आगो’ले यतिबेला उद्योगमा उत्सुकता बढाएको छ। फिल्मका गीत र पोस्टर सार्वजनिक भएसँगै दर्शकमाझ चर्चा पनि बढ्दो छ। निर्माण पक्षले फिल्मप्रति देखाएको आत्मविश्वासले यसलाई अझ अपेक्षित बनाएको देखिन्छ।
पोखरेलले विगतमा ‘परदेशी’, ‘मैदान’, ‘जीवनदाता’, ‘जय शिव शंकर’, ‘निगरानी’, ‘बडिगार्ड’, ‘लभ सब’ र ‘राधे’ जस्ता फिल्म निर्माण गरेका छन्। विशेषगरी ‘जय शिव शंकर’, ‘जीवनदाता’ र ‘मैदान’ले उनलाई सफल निर्माताको रूपमा स्थापित गरेका थिए। पछिल्लो पटक उनले ‘यात्रा’ निर्माण गरेका थिए।
उनी पुरानो र नयाँ पुस्ताबीच सेतुका रूपमा पनि चिनिन्छन्। यसअघि अभिनेत्री झरना थापासँग सहकार्य गरेका पोखरेलले अहिले उनकी छोरी सुहाना थापासँग ‘परालको आगो’मा काम गरेका छन्।
लक्ष्मण सुनारको निर्देशनमा बनेको ‘परालको आगो’मा सौगात मल्ल, सुहाना थापा र प्रकाश सपुत मुख्य भूमिकामा छन्। सामाजिक यथार्थमा आधारित यस फिल्म वैशाख ११ गते प्रदर्शनमा आउने तयारीमा छ। फिल्मको कथा, पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका हुन्।
हरिओम सिने मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा भिएफएक्स समिर मिया र सत्यम रानाले गरेका छन्। टिजर तथा ट्रेलर सम्पादन साहिल खानले गरेका हुन्।
फिल्ममा किरण तुलाधरको पाश्र्व संगीत रहेको छ भने संगीतमा शान्ति ठटाल, सत्य–स्वरूप आचार्य र प्रकाश सपुतको योगदान छ। गीतका शब्द मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतले लेखेका छन्।
सुलभी पोखरेल र सत्यम पोखरेल निर्माता रहेको फिल्मको वितरण आरआर फिल्मसले गर्नेछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ।
‘यात्रा’पछि लामो समय पर्दाबाट टाढा रहेका पोखरेलको यो फिर्तीलाई उद्योगले चासोका साथ हेरेको छ। अब भने ‘परालको आगो’ले दर्शकको अपेक्षा कत्तिको पूरा गर्छ भन्ने हेर्न बाँकी छ।
News Filmy Newsportal / Nepal