‘लालीबजार’को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक

काठमाडौं । फिल्म ‘लालीबजार’को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक गरिएको छ। षट्कोण आर्टसको निर्माणमा बनेको फिल्मको उक्त गीत लिरिकल भर्सनमा सार्वजनिक गरिएको हो।

गीतमा समीक्षा अधिकारी, दिलिजा रुवाली, अलिशा शर्मा र पूर्णिमा तामाङको स्वर रहेको छ भने कोरसमा गुराँस ठकुरी र गायत्री राना मगरको आवाज सुन्न सकिन्छ। शब्द तथा संगीत जयन जे वाइवाको रहेको छ।

यसअघि सार्वजनिक पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ले युट्युबमा एक करोडभन्दा बढी भ्यूज पाएपछि निर्माण पक्षले दोस्रो गीत सार्वजनिक गरेको हो।

निर्देशक यम थापाका अनुसार गीतमा आमा–छोरीबीचको माया र संघर्षलाई चित्रण गरिएको छ। गीतमा स्वस्तिमा खड्का, प्रशंसा सुवेदी र बालकलाकार समाइरा थापा लगायत कलाकार फिचर्ड छन्।

फिल्म आगामी २०८३ वैशाख १८ गते प्रदर्शनमा आउने तयारीमा छ। बर्दियाको राजापुरमा छायांकन गरिएको फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल लगायत कलाकारको अभिनय रहेको छ।

Leave a Reply