काठमाडौं। निर्देशक अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको नेपाली फिल्म ‘मितज्यू’को छायांकन एक महिनामै सम्पन्न भएको छ। वसन्त पञ्चमीको अवसर पारेर दाङस्थित अम्बिकेश्वरी मन्दिरमा शुभ मुहूर्त गर्दै सुरु गरिएको सुटिङ तोकिएकै समयमै सकिएको निर्माता जनक घर्ती मगरले जानकारी दिएका छन्।
निर्माता घर्ती मगरका अनुसार कलाकार तथा प्राविधिक पक्षको राम्रो समन्वयका कारण फिल्मको छायांकन निर्धारित समयमै सम्पन्न भएको हो। उनले फिल्म सामाजिक कथावस्तुमा आधारित रहेको बताए।
दाङ र रोल्पाका विभिन्न स्थानमा छायांकन गरिएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायत कलाकारको अभिनय रहनेछ। यही फिल्मबाट तेरिया मगरले अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन्।
निर्देशक अनिल बुढा मगरले छायांकन रमाइलो वातावरणमा सम्पन्न भएको बताउँदै सबै पक्षको सहकार्यका कारण एक महिनामै फिल्म खिच्न सफल भएको बताए। यो निर्देशक मगरको दोस्रो फिल्म हो। यसअघि उनले निर्देशन गरेको फिल्म ‘घरज्वाइँ’ सफल भएको थियो।
फिल्मका प्रोडक्सन म्यानेजर धनबहादुर राई (भान्जा) हुन् भने मुख्य सहायक निर्देशक फिरोज खड्का रहेका छन्। सहायक निर्देशकमा अनिल दाहाल, सञ्जु नेपाली र एल्मिना राई रहेका छन्। प्रोडक्सन डिजाइनर किशोर नेपाल, ड्रेस डिजाइनर संगीता रोका मगर र प्रतीक्षा भाट क्षेत्री, सम्पादक लोकश बज्राचार्य, छायाकार शिशिर बिशंखे र कार्यशाला भोलाराज सापकोटाले गरेका छन्।
त्यसैगरी फिल्मको द्वन्द्व निर्देशन प्रभात विष्ट, साउन्ड डिजाइन नवीन श्रेष्ठ र संगीत श्रीकृष्ण बम मल्लको रहनेछ। फिल्मका गीतमा श्रीकृष्ण बम मल्ल, मेलिन राई र लक्ष्मी मल्लले स्वर दिएका छन्।
आरआर फिल्म्स वितरक रहेको यो फिल्म आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।
News Filmy Newsportal / Nepal