काठमाडौं । यहि फागुन २९ गतेबाट प्रदर्शनमा आउने नेपाली फिल्म ‘लालिमा’ मा अभिनेत्री रोश्नी कार्कीले शीर्ष भूमिका निर्वाह गरेकी छन्। फिल्ममा उनले यौनकर्मी ‘लालिमा’को चरित्रमा अभिनय गरेकी छन्।
पात्र निर्माणका लागि आफूले गरेको तयारीबारे रोश्नीले खुलेर कुरा गरेकी छन्। थिएटर पृष्ठभूमिकी रोश्नीका लागि यो यौनकर्मीको भूमिका पहिलो अनुभव हो।
रोश्नीका अनुसार यौनकर्मीहरू प्रायः आफ्नो पेसा गोप्य राख्ने भएकाले उनीसँग चिनजान भएका यौनकर्मी थिएनन्। तर, पात्रलाई यथार्थपरक बनाउन उनीहरूलाई भेट्न आवश्यक ठानेको उनले बताइन्।
“यौनकर्मी मैले चिनेको थिएन। आफूलाई यौनकर्मी भनेर चिनाउने को नै हुन्छ र? तर पात्र निर्माणका लागि उहाँहरूसँग भेट्नु आवश्यक थियो,” रोश्नी भन्छिन्।
फिल्म यौनकर्मीको मानसिक अवस्थामाथि केन्द्रित भएकाले उनीहरूसँग प्रत्यक्ष भेटेर बुझ्नुपर्ने उनले तर्क गरिन्। निर्माण टिमको सहयोगमा १० जना यौनकर्मीसँग कुराकानी गरेपछि पात्र निर्माणमा ठूलो सहयोग पुगेको उनले बताइन्।
“उहाँहरूले आफ्ना पीडा, समस्या र मनोदशा सुनाउनुभयो। त्यसले पात्र निर्माणमा धेरै मद्दत गर्यो,” उनले भनिन्।
उनका अनुसार भेटिएका यौनकर्मीहरू किशोरीदेखि अधवैँशे उमेर समूहसम्मका थिए र अधिकांश आर्थिक समस्याका कारण यो पेसामा आएका थिए।
रोश्नीले ठूलो संख्यामा रहेका यौनकर्मीहरूको पीडा र मानसिक अवस्थाको प्रतिनिधित्व गर्न पाएकामा सन्तुष्टि व्यक्त गरिन्।
“कलाकारको रूपमा म उहाँहरूको आवाज बनेकी छु। कम्तीमा उहाँहरूको समस्या र मानसिकता पर्दामा उतार्ने प्रयास गरेकी छु,” उनले भनिन्।
News Filmy Newsportal / Nepal