‘लालिमा’को दोस्रो टिजर सार्वजनिक

काठमाडौं । फिल्म ‘लालिमा’को दोस्रो टिजर आइतबार सार्वजनिक गरिएको छ। करिब ३ हजार यौनकर्मीका अनुभव र समस्यामा आधारित रहेको बताइएको फिल्मले टिजरमार्फत आफ्नो कथावस्तुबारे संक्षिप्त संकेत दिएको छ।

सार्वजनिक १ मिनेट लामो टिजरमा फिल्मकी प्रमुख अभिनेत्री रोशनी कार्की लाई केन्द्रमा प्रस्तुत गरिएको छ। टिजरमा कलाकार सुष्मा निरौला, उषा रजक र जीवन भट्टराई पनि देखिएका छन्।

समस्यामा परेकी मुख्य पात्रलाई अन्य पात्रले साथ दिएको दृश्य टिजरमा समावेश छ। कलाकार शिशिर वाङ्देल र सविन कट्टेललाई पनि प्रस्तुत गरिएको छ। यौनकर्मी पात्रको भूमिकामा देखिएकी रोशनीको काखमा रहेको बच्चाले दर्शकको ध्यान तान्ने दृश्य समेटिएको छ। टिजरको सुरुवातमा यौनकर्मीको भूमिकामा देखिएकी उनी अन्त्यतिर शिशुसहित सहर बाहिर पुगेको देखिन्छ।

यी दृश्यहरूले मुख्य पात्रको उतारचढावमार्फत ३ हजार यौनकर्मीको जीवनका जटिल पक्ष फिल्ममा प्रस्तुत गरिएको संकेत गर्छन्।

फागुन २९ गतेदेखि प्रदर्शनमा आउने ‘लालिमा’का लेखक तथा निर्देशक रोशन मिराज हुन्। फेथ आस्थाको प्रस्तुति रहेको फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन् भने नेसनल सिने ग्रुप नेपाल ले वितरणको जिम्मेवारी लिएको छ।

Leave a Reply