काठमाडौं । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ २’ को छायांकन सम्पन्न भएको छ। ६३औँ दिनमा इन्ड–क्ल्याप गरिएको जानकारी निर्देशक देउजाले दिएका छन्।
बुधबार चितवनमा अन्तिम दृश्य खिच्दै छायांकन सकिएको निर्माण टिमले जनाएको हो। ६० दिनको सेड्युलमा गत मंसिरबाट सुरु गरिएको छायांकन निर्धारित समयभन्दा तीन दिन बढी लागेको निर्माण टिमले जानकारी दिएको छ।
पहिलो भागको सफलतालाई कायम राख्दै दोस्रो भागलाई अझ उत्कृष्ट बनाउन कुनै सम्झौता नगरी छायांकन गरिएको निर्देशक देउजाले बताएका छन्। त्यसैले दर्शकले राम्रो फिल्म हेर्न पाउनेमा उनी विश्वस्त छन्।
२०८३ सालको दशैंमा रिलिज गर्ने लक्ष्य राखिएको फिल्मको सम्पादन कार्य अब सुरु हुँदैछ। काभ्रेको पनौतीबाट सुरु भएको छायांकन काठमाडौं, भक्तपुर, साँखु, तनहुँको बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ, पालुङ र चितवनमा गरिएको हो।
कपनगढी सिनेमा प्रालि र फिल्म क्रू नेपालको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल बिष्ट, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, हिँउवाला गौतम, विजय देउजा, आशा भुषाल, अभय राज बराल र आशिष पुरुषको अभिनय रहेको छ।
फिल्मको पटकथा परिच्छेद सेन, गोविन्द फुयाँल र शिशिर चालिसेले लेखेका हुन्। रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, रामजी लामिछानेको नृत्य निर्देशन, अर्जुन पोखरेलको संगीत र मित्रदेव गुरुङको सम्पादन रहनेछ। ईश्वर घिमिरे प्रोडक्सन म्यानेजर, चन्द्र भण्डारी मुख्य सहायक निर्देशक तथा पासाङ शेर्पा र मानिक पाख्रिन कला निर्देशक रहेका छन्।
विष्णु कल्पित घिमिरेको छायांकन रहेको फिल्मका निर्माता सुलभ प्रतिक देउजा र समीक्षा देउजा हुन्।
News Filmy Newsportal / Nepal