काठमाण्डौँ । दसैँको फूलपातिको डेटबाट एक ईन्च पनि दायाँ बाँया नहुने भन्दै सुटिङ सुरु गरिसकेका माइतीघर फिल्मका निर्माता रोहित अधिकारीले फिल्मको पब्लिसिटीमा एक करोड बजेट छुट्याएका छन ।
न्यूज फिल्मीलाई दिईएको जानकारी अनुसार यस पटक आक्रमक पब्लिसिटी गर्ने योजना अनुरुप माइतीघरको प्रचार प्रसारमा रोहितको टम उत्रिन लागेको हो । दसैको फूलपातिको डेटमा अन्य तीन फिल्म पनि प्रर्दशन हुँदैछन तसर्थ रोहितले फिल्मको प्रचार प्रसारलाई आक्रमक बनाएर लैजाने योजना अनुरुप ठूलो भोलुममा पब्लिसिटी डिजाइन गरिएको बताए ।
नेपालमा हाल सम्म एक करोड खर्चिर कुनै पनि फिल्मको पब्लिसिटी भएको छैन । यदाकदा केही फिल्महरुको पब्लिसिटीमा ४० लाख सम्म खर्च भएको देखिन्छ तर माइतीघर टिमले नयाँ पन ल्याउने योजना अनुरुप पब्लिसिटी बजेट एक करोड छुट्याएको दाबी गरेको हो ।
६ दिन देखि म्याग्दीको ताकम गाउँमा फिल्मको छायाँकन गरिरहेका निर्माता अधिकारीले भनेका छन । पहिलो चरण बैशाख र जेठको पब्लिसिटी हुनेछ भने दोश्रो चरण असार र श्रावण र तेश्रो चरणमा भदौ र असोजमा फिल्मको आक्रमक पब्लिसिटी हुनेछ ।
उनका अनुसार पहिलो चरण सुटिङको जानकारी र फ्लोरका गतिविधि बाहिर ल्याईने छ भने दोश्रोमा फिल्मको कन्टेन्टमा गीत र अन्य सामग्री रहने बताएका छन । तेश्रोमा डिजिटल र फिजिकल पब्लिसिटी उच्च कोटीमा गर्ने उनको तयारी छ । “यस पटक हामी हरेक ठाउँमा छाउने गरी पब्लिसिटीमा उत्रिन लागेका हौँ त्यसैले सम्भवत पब्लिसिटीमै एक करोड बजेट लाग्ने देखिएको हो । ” रोहितको भनाई छ ।
यसै क्रममा निर्माता रोहितले फ्लोरबाटै केदार घिमिरे माग्ने बुढाको तस्बिर पनि सार्वजनिक गरेका छन । माइतीघरमा माग्ने बुढा शीर्ष भूमिकामा छन तर उनी कस्तो भूमिकामा थिए भन्ने चासो बढिरहेका बेला उनको टिमले माग्ने बुढाको लुक्स बाहिर ल्याएको हो । तस्बिरमा माग्ने बुढा गाउँका कुनै एक चल्तापूर्जा ब्यक्तित्व जस्ता देखिएका छन । मोबाईल चलाउँदै गाउँले परिवेशमा देखिएका माग्नेको ब्रान्ड लुकले सधै लगाउने बादरे टोपी छाडेर उनी नेपाली टोपीमा देखिएका छन ।
मिलन तामाङले निर्देशन गरेको फिल्ममा माग्ने बुढा बाहेक प्रकाश सपुत , धिरज मगर , उपसना सिंह ठकुरी , बुद्धी तामाङ , शिशिर बाङदेल , युवराज लामा, जस्ता चिर परिचित कलाकारका साथमा सिक्कीमेली अभिनेत्री श्यामश्री शेर्पाले डेब्यू गर्दैछिन ।