काठमाडौं । कश्मीरको पहलगाममा भएको आक्रमणपछि भारत सरकारले पाकिस्तानी कलाकारहरूको इन्स्टाग्राम एकाउन्ट भारतभित्र प्रतिबन्ध लगाइएको छ।
भारतले माहिरा खान, हानिया आमिर, अली जफर, माया अली, सजल अली, आयजा खान, इकरा अजिज, सनम सईदलगायत कलाकारको खाता भारतीय प्रयोगकर्ताले हेर्न नपाउने बनाएको हो।
यही आदेशअनुसार एआरवाई डिजिटल, हम टिभीजस्ता चर्चित पाकिस्तानी युट्युब च्यानलहरू पनि भारतमा ब्लक गरिएका छन्। सरकारी स्रोतअनुसार ती च्यानलहरूले भारतविरुद्ध भ्रामक र भड्काउने सामग्री प्रस्तुत गरेको आरोप छ।
यद्यपि, फवाद खान, सबा कमर, मावरा होकने, युमना जैदी, वहाज अलीजस्ता केही कलाकारको खाता भने अझै खुला छ। फवाद खानको बलिउड कमब्याक फिल्म ‘अबीर गुलाल’लाई दुबै देशमा प्रतिबन्ध लगाइएको छ।
यसअघि सन् २०२३ मा बम्बई उच्च अदालतले पाकिस्तानी कलाकारमाथिको प्रतिबन्ध असंवैधानिक भएको ठहर गर्दै त्यस्तो याचिका खारेज गरिसकेको थियो।