काठमाण्डौँ । चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म पिताम्बर नेपाल सुपर लिग (एनएसएल) को ‘मुभी पार्टनर’ बनेको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) द्वारा आयोजित यो प्रतिष्ठित फुटबल प्रतियोगिता यही चैत १६ गतेदेखि काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुँदैछ।
यो सम्झौता पिताम्बर फिल्मका तर्फबाटनिर्माता बिशाल चौलागाई र एनएसइएमका तर्फबाट म्यानेजिङ डिरेक्टर श्रेयांस कार्की बीच भएको हो । यसैगरी सुपर लिगमा आफ्नो फिल्म मुभि पार्टनर भएसँगै फिल्मकी निर्देशक कृषा चौलागाईंले नेपालकै चर्चित खेलकुद प्रतियोगिता मध्ये एकमा साझेदारी गर्न पाउँदा उत्साहित भएको बताइन्। “नेपालमा खेलकुद र फिल्म एकअर्काका पूरक छन्। यस्तो सहकार्यले हाम्रो फिल्मलाई अझै धेरै दर्शकसम्म पुर्याउनेछ,” उनले भनिन्।
निर्माता चौलागाईंले पनि यो अवसरलाई सदुपयोग गर्दै पिताम्बर लाई खेलकुद प्रेमी दर्शकमाझ प्रवर्द्धन गरिने बताए। त्यस्तै, एनएसईएमका म्यानेजिङ डाइरेक्टर कार्कीले पिताम्बर जस्तो मल्टीस्टारर फिल्मसँगको सहकार्य खेलकुद र मनोरञ्जन क्षेत्रको लागि नयाँ उदाहरण बन्ने उल्लेख गरे। उनले भने, “यो सहकार्य सुरुवात मात्र होइन, खेल र मनोरञ्जन क्षेत्रलाई जोड्ने ठूलो सेतु बन्नेछ।”
केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको ब्यानरमा निर्माण भएको पिताम्बर मा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय रहेको छ।
यस सहकार्यसँगै नेपाल सुपर लिगका विभिन्न खेलमा पिताम्बर युनिटका कलाकार तथा प्राविधिकहरूलाई दर्शकहरूले प्रत्यक्ष रूपमा भेट्न सक्नेछन्।
News Filmy Newsportal / Nepal