काठमाण्डौं । पर्सी चैत्र १ गते देखि रिलिज हुन लागेको फिल्म ‘राजागञ्ज’ सेन्सर बोर्डको निर्णयको कारण विवादमामा परेपछि फिल्मकर्मीहरु सेन्सर बोर्डको तिब्र विरोधमा उत्रिएका छन ।
दीपक रौनियार निर्देशित यो फिल्ममा २०७२ सालमा तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानसभाबाट बाहिरिएका दलहरूलाई ‘रुखबाट झरेका केही आँप’ को संज्ञा दिएको एक सार्वजनिक भाषण समावेश गरिएको छ। सेन्सर बोर्डले सो दृश्य हटाउन निर्देशन दिएको छ, जसप्रति फिल्मका निर्देशक दिपक रौनियार सहित अन्य फिल्मकर्मीहरुले पनि विरोध जनाएका हुन ।
निर्देशक निश्चल बस्नेतले सेन्सर बोर्डको निर्णयविरुद्ध सामाजिक सञ्जालमा लेख्दै भने, “सेन्सर बोर्डको सदस्य बन्ने योग्यता के हो? DISCLAIMER नबुझ्ने, फिल्म फिक्सन हो भन्ने थाहा नपाउने, ART नबुझ्नेहरू फिल्म सेन्सर गर्न बसेका छन्!” निश्चलको स्टेटस आएपछि उनको स्टाटसलाई निर्देशक उपेन्द्र सुब्बा, अर्जुन घिमिरे (पाँडे), लगायतका धेरै फिल्मकर्मीले समर्थन गर्दै आफ्नो टाईमलाईनमा शेयर पनि गरेका छन ।
यसैगरी निर्माता निर्माता प्रदीप उदयले खै तिम्रो अभिव्यक्ति स्वतन्त्रता… भन्दै लेखेका छन्, “हे गणतन्त्रवादी चलचित्रकर्मी मित्रहरु राजाको शासनमा बोल्न पाईन्न भन्थ्यौ । के अहिले चलचित्र मार्फत आफ्नो धारणा बोल्न पाईरहेका छौ ?” त्यसैगरी निर्देशक मनोज पण्डितले “नेपालमा राजनीतिक विषयमा चलचित्र नै बन्न नसक्ने स्थिती आइसक्यो जबकी आज देशको मुल समस्या नै राजनीति सँग जोडिएको छ ” भन्दै आफ्नो धारणा व्यक्त गरेका छन ।
यसैबीच फिल्म हलमा सो समेत सार्वजनिक भएर दर्शक टिकट काट्ने कि नकाट्ने अलमलमा पररहेका बेला सेन्सरबोर्डबाट गरिएको उक्त कदम लाई सच्याउन ‘राजागञ्ज’ को टिम सेन्सर बोर्डसँग सहमति खोज्न प्रयासरत छ।
‘राजागञ्ज’ ले यस वर्षको भेनिस फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर पाइसकेको छ। त्यहाँ फिल्मलाई १० मिनेट लामो स्ट्यान्डिङ ओभेसन प्राप्त भएको थियो। मधेशको सामाजिक तथा राजनीतिक यथार्थ झल्काउने यस फिल्ममा आशा मगराती, दयाहाङ राई, विजय बराल, निकिता चाण्डकलगायतको अभिनय छ। फिल्म यही चैत १ गते प्रदर्शनको तयारीमा छ।
तर, सेन्सर बोर्डको हस्तक्षेपका कारण अब यो फिल्म नेपाली दर्शकसम्म पुग्न सक्ला वा सक्दैन भन्ने अन्योल कायमै छ।
निर्देशक रौनियारले “प्रधानमन्त्री ओलीले सार्वजनिक रूपमा दिएको भाषण प्रयोग गर्दा हामीले किन अनुमति लिनुपर्ने?” भन्ने प्रश्न उठाएका छन्।