काठमाण्डौँ , असोज २४ को महाभिडन्तले थप चर्चा बटुलिरहेको बेला फिल्म ज्वाइँ साबको गीत रिलिज भएको छ ।
बुधबार काठमाण्डौँमा आयोजित पत्रकार सम्मेलनका बीच फिल्मको पहिलो गीत रिलिज भएसँगै यो फिल्म असोज २४ का दिन छक्का पञ्जा ५ र १२ गाउँ सँगै प्रर्दशनमा आउने थप पक्का भईदिएको छ ।
यादव लम्सालले लेखेको सुन्दर शब्दमा निशान भट्टराई र समीक्षा अधिकारीको मिठो स्वर सुन्न सकिन्छ । संगीत भने अर्जुन पोखरेलको हो । लोक प्यार्टनमा निर्मित यो गीतले पछिल्लो समय रिलिज भईरहेका फिल्मी गीतहरुको तुलनामा केही हद सम्म बजारमा आफ्नो उपस्थिति देखाउन सक्छ ।
विशेष गरी अडियो पक्ष याद गर्न सजिलो हुने खाले छ । दोश्रो अन्तरापछि गीतले पूर्ण लय पकडेको छ जसकारण हुक लाईन कसम बत्तीको लगायत केही टुक्राहरु टिकटक र रिल्स मार्केटमा दर्शकको रोजाईमा पर्न सक्छन ।
अझ गीतको अन्त्य -अन्त्य तिर संगीतकार पोखरेलले रत्यौली मोडल जोडिदिदा यो गीत सुन्दै जादा थप मिठो लाग्न सक्छ । अडियो छोडेर दृश्य भाषामा कुरा गर्नु पर्दा कोरियोग्राफर गम्भिर विष्टले क्रिएट गरेको सिक्वेन्स सवै भन्दा पावर फुल बनेको छ ।
गीतको अन्त्यमा बेहुला बनेका जीतु नेपाल बेहुली अन्माए जसरी डोली चढ्ने बेला साथी भाईलाई अंगालो हालेर रोएको दृश्यले दर्शकको ध्यान पूर्ण रुपमा खिच्न सक्छ । यहि दृश्यका कारण कमेडियन हिरो जीतु नेपाल र हिरोइन नीति शाहको केमेष्ट्री पूरा फिल्मभर रमाईलो रहला भन्ने आशा समेत जगाईदिएको छ ।
भिजुअल मिडियमलाई नियाल्दा दिन र रात सिक्वेन्स किन राखियो भनेर शायद कोरियोग्राफरलाई प्रश्न पनि आउँन सक्ला तर गीतमा ईम्याजिनेशन सिक्वेन्स क्रिएट गरिएको हुँदा कोरियोग्राफरले लिएको यो लिवर्टीमा हामी प्रश्न गर्न चाहदैनौँ । यो बिषयमा हाम्रो बुझाई अलग पनि छ । धेरै जसो वैवाहिक समारोहरु बिहान ढिला सुरु भएर साँझ घाम अस्ताए सम्म नै जारी रहन्छ ।
तसर्थ यो प्रश्नमा हामी कोरियोग्राफारको पक्षमा नै उभिनेछौँ । उनले भर्खरै फिल्म नगरीमा पाईला चाल्दै गरेकी हिरोइन निति शाह र जीतु नेपाललाई सक्दो तरिकाले राम्रो देखाउँने प्रयाश मात्रै गरेका छैनन क्यानभासलाई समेत ध्यान दिदै बैबाहिक समारोहरुलाई पूरा सिक्वेन्समा उतार्न सफल पनि भएका छन । हेर्नुस गीत