काठमाण्डौँ । फिल्म रिलिज अघि विदा पर्नु अनि त्यसमाथि भिडभाडको माहोल सृजना हुनु नेपाली फिल्मकर्मीहरुका लागि सवै भन्दा सुखद पक्ष हो । किन कि जहाँ क्राउडेड एरिया हुन्छ त्यहाँ आफ्नो फिल्मको प्रचार गर्न कलाकारहरु कुनै न कुनै बहानाले पुगिहाल्छन ।
यसो गर्दा उनीहरुको फिल्मको प्रचार पनि राम्रै हुने गर्छ भने कार्यक्रम आयोजकलाई पनि कलाकार आउँदा कार्यक्रम सफल हुने अनि केही न केही राहत अवश्य मिल्छनै । जसरी आज बनेपामा आयोजित कन्या पूजामा देखियो । हरेक बर्ष कृष्णजन्माष्टमीको दिनमा सनातन गुठी’ले आयोजना हुने कन्या पूजामा फिल्म बर एण्ड बधुको टिमले कन्या पूजा गर्दै फिल्मको प्रचार समेत गर्न भ्यायो ।
उक्त कन्या पूजामा हिरोइन आँचल शर्मा , नयाँ हिरो विवेक कर्मचार्य कलाकार किरण केसी, रविन्द्र खड्का, मोडलद्धय कुसुम शर्मा र विजु पार्की सहभागी भए । कलाकारहरुले हजार बढी बालिकाहरुलाई कापी र खानेकुरा वितरण गरेका थिए गर्नुका साथै गुठीलाई १ लाख ११ हजार नगद सहयोग पनि गरे ।
करिब एक घन्टा भन्दा बढी समय कन्याहरुलाई कापी र विस्कुट वितरण गरेकी आँचलले निकै नै हर्षित भएको अनुभव सुनाइन् । यस्तै, हिरो विवेकले आफूले विगत ४ बर्षदेखि निरन्तर रुपमा ‘कन्या पूजा’मा आएर विभिन्न कुराहरु दान गर्ने गरेको सुनाए । भदौको १४ गते देखि रिलिजमा आउन लागेको यो फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । जानुका थापाको लगानी रहेको फिल्ममा अमित रिजाल कार्यकारी निर्माताको रुपमा छन् ।
हालै मात्र नयाँ गीत निकालेको बर एण्ड बधु यूनिट मोफसलको प्रचार भ्याएर आज बनेपा पुगेर यो गतिविधि गरेको हो ।