काठमाडौं – ११ बर्ष देखि रोकिएको थाई फिल्म फेस्टिभल पुनः हुने भएको छ ।
नेपाल र थाइल्याण्डबीचको कूटनीतिक सम्बन्धको ६५ औं वर्षगाँठको अवसर पारेर, लामो समयदेखि रोकिएको यो फेस्टिभल पुनः सुरु गर्न लागेको जानकारी नेपालका लागि थाई राजदूत सुपापोङ सिरिसोर्नले सोमबार रोयल थाई दूतावासमा आयोजित पत्रकार सम्मेलनमा दिएका छन । फेस्टिभल आगामी भदौ १४ गतेदेखि तीन दिनसम्म ठमेलस्थित छाया सेन्टरको QFX सिनेमामा फेस्टिभल चल्ने छ ।
राजदूत सिरिसोर्नले नेपाल र थाइल्याण्डबीचको गहिरो सम्बन्धलाई सम्मान गर्न र चलचित्रको माध्यमबाट थाई र नेपाली जनतालाई अझ नजिक ल्याउन यो फेस्टिभलको आयोजना गरिएको बताए। साथै, उनले यस फेस्टिभललाई भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। यो नेपालमा आयोजना हुने चौथो थाई फिल्म फेस्टिभल हो।
फेस्टिभलमा थाई चलचित्र बजारमा निकै रुचाइएका र पुरस्कार विजेता ६ वटा फिल्महरू प्रदर्शन गरिनेछन्। दर्शकहरूले कमेडी, रोमान्स, र हरर श्रेणीका फिल्महरूको आनन्द लिनुका साथै निःशुल्क थाई खानाको स्वाद पनि लिन पाउनेछन्।
फेस्टिभलको उद्घाटन भदौ १४ गते साँझ ५:३० बजे ‘हाउ टु मेक मिलियन्स बिफोर ग्रान्डमा डाइज’ को प्रदर्शनबाट हुनेछ। त्यसपछि ‘प्याड थाई द मुभी’ देखाइनेछ। भदौ १५ गते मध्यान्ह १२:१५ बजे ‘टुगेदर द मुभी’ र दिउँसो ३ बजे ‘अन्डरटेकर’ प्रदर्शन हुनेछ। अन्तिम दिन भदौ १६ गते साँझ ५:३० बजे ‘ड्रिम अ लिटिल ड्रिम’ र साँझ ७ बजे ‘ब्रोकन सोर्ड हिरो’ प्रदर्शन गरिनेछ। यस फेस्टिभलमा सबैका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
News Filmy Newsportal / Nepal