तेल भिसा खेल्न अमेरिका पुगे विपिन कार्की : ऋचाले गरिन स्वागत

काठमाण्डौँ । लामो समयको अन्तरालमा शंकर घिमिरेले निर्माण तथा निर्देशन गर्न लागेको फिल्म ‘तेल भिसा’को सुटिङका लागि अभिनेता विपिन कार्की अमेरिका पुगेका छन ।

नेपाली समय अनुसार शुक्रबार राति ८ बजे निर्देशक घिमिरे तथा चिफ एडि मछिन्द्र योङगा सहित विपिन अमेरिकाको मेरिल्याण्ड राज्यमा उत्रिएका हुन ।

विपिनको यो अमेरिका यात्रा पहिलो पटक हो । उनीहरुलाई नेपालबाट विदाई गर्न फिल्मका निर्माता टिकाराम बुढाथोकी पुगेका थिए । टिकाराम हाल बजारमा निकै चर्चा बटुलिरहेको श्रीकेश हेयर आयलका प्रोप्राईटर हुन जो यो फिल्म निर्माण गर्ने मुख्य कम्पनी वेल डन क्रिएसनसँग सहकार्य गर्दै नेपाली फिल्म नगरीमा निर्माताको रुपमा प्रवेश गर्दैछन ।

विपिनलाई उता अमेरिकामा स्वागत गर्न फिल्मकी कार्यकारी निर्माता समेत रहेकी अभिनेत्री ऋचा घिमिरे पुगेकी थिईन । ऋचाले यो फिल्ममा एउटा महत्वपूर्ण भूमिका निवार्ह गर्दैछिन ।

फिल्ममा विपिन दोहोरो भूमिकामा देखिनेछन । उनको अपोजिट गौरी मल्ल र बर्षा राउत दुवै जना देखिनेछन । सुटिङका लागि बर्षा केही दिनमा र गौरी सम्भवत अर्को हप्ता अमेरिका पुग्दैछन ।

सिनेमाटोग्राफर सुसन प्रजापति भने केही दिन अघिनै बाल्टिमोर पुगिसकेका छन । निर्माण यूनिटले दिएको जानकारी अनुसार अमेरिकामा बसोबास गर्ने विभिन्न देशका कलाकारहरुको समेत सहभागितामा तेल भिसाको छायाँकन बैशाख २५ गतेबाट एक महिना सम्म चल्नेछ ।

मेरिल्याण्ड राज्यका विभिन्न शहरमा ७० प्रतिशत फिल्म खिचेर यूनिट बाँकीको छायाँकन पूरा गर्न

नेपाल फर्किएर पूर्वी चितवन

पुग्नेछ ।