काठमाण्डौँ । महाजात्राको आक्रमक ब्यापारका बाबजुत पनि फिल्म डिग्री माइलाले एक हप्तामा ५ करोड माथिको ब्यापार गर्न सफल भएको छ ।
गत चैत ३० गतेबाट प्रदर्शनमा आएको रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’ टिमले पत्रकार तथा दर्शकलाई धन्यवाद ज्ञापन कार्यक्रमको आयोजना गर्दै आफ्नो एक हप्ते ब्यापारिक रिपोर्ट सार्वजनिक गरेको हो ।
यो कार्यक्रममा निर्माता मणिराम पोखरेल दर्शकलाई फिल्म सफल भएको भन्दै दर्शकलाई धन्यवाद दिनुका साथै एक हप्ताको बक्सअफिस कलेक्सन समेत सार्वजनिक गरेका थिए ।
निर्माता पोखरेलले चलचित्र विकास बोर्डको बक्स अफिश रिपोर्ट अनुसार नै आफ्नो फिल्मले पहिलो हप्ता ५ करोड ५ लाख ग्रस कलेक्सन गरेको जानकारी दिए । जस अनुसार काठमाडौं भ्यालि टेरिटोरीमा २ करोड ५० लाख र मोफसलमा २ करोड ५५ लाख ग्रस कलेक्सन गरेको दावी गरेका छन । उनले विकास बोर्डको सर्भर कनेक्ट नभएका हलबाट आउँने थप दश प्रतिशत रकम भने यो रिपोर्टमा नजोडिएको बताए ।
बाँसुरी फिल्मसबाट निर्माण भएका यसअधिका फिल्मको भन्दा ‘डिग्री माइला’को व्यापार कमजोर भएपनि आफुहरु खुशी रहेको निर्माण पोखरेल बताउँछन् । आफुहरुको अपेक्षा धेरै भएपनि अघिल्ला फिल्मको तुलनामा त्यो अपेक्षा मिट नभएको उनले स्वीकार गरे ।
अभिनेता दयाहाङ राईले पनि ‘डिग्री माइला’ले दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको बताए । आफुले काठमाडौं उपत्यका र मोफसलका केही ठाउँमा पुगेर दर्शकसँग प्रतिक्रिया लिँदै गर्दा केही दर्शकलाई फिल्म अत्याधिक मन परेको र केही दर्शकलाई पटक्कै मन नपराएको पाएको जानकारी दिए । यो फिल्म हामीले देशको समसामायिक विषयलाई समेट्दै एउटा आन्दोलनको रुपमा निर्माण गरेको उनको दाबी छ । कार्यक्रममा अभिनेत्री आँचल शर्मा र निर्देशक रामबाबु गुरुङ भने अनुपस्थित थिए ।
बुझिए अनुसार अभिनेत्री आँचल बर एण्ड बधुको सेकेण्ड सेड्यूलको सुटिङमा गएका कारण कार्यक्रममा अनुपस्थित थिईन भने निर्देशक गुरुङ चाँहि फिल्मले अपेक्षित ब्यापार गर्न सफल नभएपछि कार्यक्रममा सहभागिता जनाउँने मुडमा नरहेका कारण उनले अन्य टिमलाई पत्रकार सम्मेलन क्यारी गराउँन लगाएका थिए ।