काठमाडौं । गायक एवं संगीतकार टंक बुढाथोकीले एउटै गीतलाई सात नेपाली भाषामा गाएर रिलिज गरेका छन ।
उनले ‘धन्यवाद’ बोलको गीतलाई नेपालीसँगै, नेवारी, तामाङ, थारु, राजवंशी, खस र भोजपुरी गरेर सातवटा भाषामा सार्वजनिक गरेका हुन् ।
शनिबार काठमाडौंको क्युज सिनेमा हलमा एक कार्यक्रमका बीच गीतको भिडियो सार्वजनिक गरिएको हो । सातवटै भिडियो टंकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएका छन । विशेष गरी अफिशियल भनिएको नेपाली भाषाको गीत र भिडियो अन्य भिडियो भन्दा आकर्षक देखिन्छ । अन्य छ वटा गीतको मेलोडी, एरेन्ज एउटै छ भने भाषामा मात्र परिवर्तन गर्दै ओर्जिनल भिडियोमा आफू र गायिका अनु चौधरीलाई फिचर्ड गरेर केही हेरफेर गरिएको छ ।
कोरियन मोडलमा निर्माण गरिएको गीतमा शब्द र संगीत पनि टंककै हो । टंक र गायिका अनुको यो पहिलो सहकार्य हो । गीतको भिडियोमा कोरियोग्राफर राहुल शाह र समिस्रिका परियारको मुख्य अभिनय छ ।
कार्यक्रममा अतिथिका रुपमा पुगेका संघीय सांसद सुनिल केसीले टंकले गरेको नयाँ प्रयासको प्रशंसा गरे । उनले नेपालमै सायदै पहिलोपटक एकैपटक एउटै गीतलाई सातवटा नेपाली भाषामा सार्वजनिक गरिएको र एक कलाकारले नेपाली भाषालाई सरंक्षण र प्रबद्र्धन गर्न सहयोग गरेको भन्दै धन्यवादसँगै शुभकामना दिए । यस्तै सप्तऋषि आयुर्वेद अस्पतालका ब्यवसायी एवं टंकका दाई टिका बुढाथोकीले पनि गीतको सफलताको शुभकामना दिए ।
गायक तथा संगीतकार टंकले आफूले एक वर्षदेखी यो गीतका लागि मेहनत गरेको जानकारी दिए । ‘मैले एक वर्षदेखी यो गीतका लापग काम गरिरहेको थिएँ । विशेषगरी सबै भाषाको ज्ञान नहुँदा धेरै समय लाग्यो’ – टंकले भने, ‘मैले झण्डै ५० पटकसम्म अभ्यास गरेको थिएँ । सबैभन्दा बढी नेवारी भाषामा स्वर भर्दा समय लागेको थियो ।’ मिडिया सम्बोधन गर्दै उनले भने, ‘हामी नेपालीलाई आफूले बोल्ने भन्दा अन्य भाषाको ज्ञान कमै हुन सक्छ । त्यसैले गीतमार्फत भएपनि भाषाको प्रमोट होस् भन्ने लाग्यो ।’
हेर्नुस गीत