सिनेमाघर एपमा रिलिज भयो ‘महापुरुष’

काठमाण्डौँ । गत बर्षको हिट फिल्म महापुरुष शुक्रवारबाट नेपालको ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा रिलिज भएको छ ।

शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै सिनेमाघर र फिल्म टीमले यसबारेमा जानकारी गराएको हो । यो फिल्म सिनेमाघर एपमा विज्ञापन रहित हेर्न सःशुल्क र विज्ञापन सहित हेर्न निःशुल्क दुवै तरिकाले पाइनेछ । प्रदीप भट्टराईको निर्देशनमा बनेको फिल्मलाई २ सय रुपैयाँ तिरेर हेर्न सकिनेछ ।

सिनेमाघरका अध्यक्ष खगेन्द्र लामिछानेले ‘महापुरुष’लाई हलमा जस्तै एपमा पनि दर्शकको राम्रो साथ मिल्नेमा विश्वास व्यक्त गरे । उनले सिनेमाघरमा दर्शकले देखाएको चासोबाट उत्साहित रहेको बताए । हालसम्म सात लाख बढि एप डाउनलोड भईसकेको जनाए । लामिछानेले यूट्युबमा सित्तैमा फिल्म हेरिरहेका दर्शकलाई एपमा पैसा तिरेर हेर्ने बानी बसाल्न एकदमै गाह्रो भए पनि अब एप्लिकेसनमा पैसा तिरेर फिल्म हेर्ने बानीको विकास भइरहेको बताए ।

अघिल्लो वर्ष सिनेमाघर एपमा फिल्म ‘कबड्डी ४’ रिलिज भएको थियो । दर्शकको अत्याधिक चापका कारण एपको सर्भर १२ घण्टासम्म डाउन भएको थियो । त्यसपछि सर्भरलाई अपग्रेड गरिएको खगेन्द्रले बताए । उनले एपमा ‘कबड्डी ४’ले युट्युबमा भन्दा राम्रो कमाई गरेको समेत दाबी गरे । ओटीटी प्लेटफर्मप्रति दर्शकको आकर्षण बढ्दा फिल्म क्षेत्रलाई नै फाइदा पुग्ने उनको भनाई छ ।

महापुरुषका प्रमुख अभिनेता हरिवंश आचार्यले डिजिटल माध्यममा ठुलो सङ्ख्यामा दर्शकहरू रहेको बताए । पहिलो पटक ओटीटी प्लेटफर्ममा आफ्नो फिल्म रिलिज भएकोमा खुसी व्यक्त गरे । अहिले डिजिटल मार्केट फराकिलो भैसकेको र यसले कलाकारलाई जीवित बनाइराखेको बताउँदै उनले सिनेमाघर एप नेपाली फिल्म क्षेत्रका लागि बरदान सावित भएको बताए । नेपाली फिल्मका लागि नयाँ प्लेटफर्म जन्मिनु राम्रो कुरा रहेको उनको भनाई छ ।

अभिनेता तथा निर्माता रबिन्द्र सिंह बानियाँले हलमा हेर्न छुटाएका दर्शकका लागि लक्षित हेरेर फिल्मलाई डिजिटल रिलिज गर्न लागेको बताए ।  सिनेमाघर एपका चिफ टेक्निकल अफिसर सन्जिव ढकालले सबै प्रकारका स्मार्ट डिभाइसमा एप उपलब्ध रहेको बताए । अबदेखि सिनेमाघरले एलजि, सामसुङ र एप्पल एयरप्ले पनि थप गरेको उनले बताए ।

Leave a Reply