काठमाडौं । भदौ २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘बेहुली’को दोस्रो गीत ‘म भईन भने’ सार्वजनिक गरिएको छ। निर्माण टिमले पहिलो गीत ‘दिलमा ठाउँ छ’ले युट्युबमा १ करोड भ्युज नजिकिँदै गर्दा दोस्रो गीत सार्वजनिक गरेको हो।
सुरेश लामा र दुर्गा खरेलको स्वर रहेको गीतमा फिल्मका प्रस्तुतकर्ता तथा संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत छ। गीतको एरेन्ज उदय राज पौडेलले गरेका हुन्।
रोमान्टिक भावको गीतको भिडियो भारतका दार्जिलिङ, मिरिक र सिक्किमका रमणीय स्थानमा छायांकन गरिएको छ। उत्सव दाहालको छायांकन र सियोन श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोमा फिल्मका मुख्य कलाकार पारस बम ठकुरी र दिव्या रायमाझीलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ।
फिल्मका प्रस्तुतकर्ता तथा संगीतकार पोखरेलका अनुसार कथाको गहिराइ र दृश्यको मागअनुसार गीतको छायांकनका लागि ती स्थान छनोट गरिएको हो।
सशान कँडेलको निर्देशन तथा माधव शर्माको लेखन रहेको ‘बेहुली’मा पारस र दिव्यासँगै सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरलगायत कलाकारको अभिनय रहेको छ।
द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुतिमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता अर्जुन पोखरेल हुन्। प्रताप शमशेर राणा निर्माता तथा शंकर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता छन्। दुर्गा खरेल र शिशिर श्रेष्ठ सह–निर्माता रहेका छन्।
फिल्ममा नरेन्द्र मैनालीको छायांकन, विकास दाहालको सम्पादन तथा रोशन श्रेष्ठको एक्सन कोरियोग्राफी रहेको छ। सुदीप कुँवर मुख्य सहायक निर्देशक रहेको फिल्मका सहायक निर्देशक योगेन्द्र कार्की र मार्लोभ ढुंगाना हुन्।
यमप्रसाद ओली प्रोडक्सन हेड रहेको फिल्ममा किशोर नेपालको प्रोडक्सन डिजाइन, राजु वाइबाको मेकअप तथा एलेक्स बासुकलाको पहिरन डिजाइन रहेको छ।
फिल्मलाई काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्स र उपत्यकाबाहिर श्री वेंकटेश इन्टरटेन्मेन्टले वितरण गर्नेछन्। फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।
News Filmy Newsportal / Nepal