काठमाडौँ । अभिनेत्री नीता ढुङ्गानाको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म ‘पार्वती’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार धमाधम बिक्री हुन थालेको छ। नेपालमा प्रदर्शनको तयारी अन्तिम चरणमा पुग्दै गर्दा अमेरिका र अस्ट्रेलियाका वितरकहरूले फिल्मको प्रदर्शन अधिकार खरिद गरेका हुन्।सार्वजनिक गीत, टिजर तथा प्रचारप्रसार सामग्रीका कारण विदेशमा रहेका नेपाली दर्शकमाझ फिल्मको माग उच्च देखिएपछि वितरकहरूले खरिदमा रुचि देखाएका हुन्।निर्माण पक्षका अनुसार यसै साता अस्ट्रेलिया र अमेरिकाका लागि फिल्मको अधिकार बिक्री भइसकेको छ।
अस्ट्रेलियामा आगामी ४ सेप्टेम्बरदेखि नमस्ते इन्टरटेन्मेन्टले फिल्म प्रदर्शन गर्दैछ। अस्ट्रेलिया प्रदर्शनको एक सातापछि अर्थात् ११ सेप्टेम्बरदेखि माया डिजिटल युएसएले अमेरिकाका सिनेमा हलहरूमा ‘पार्वती’ रिलिज गर्दैछ।
फिल्मका निर्माता हरिहर अधिकारीले आकर्षक रकममा अस्ट्रेलिया र अमेरिकाको अधिकार दिइएको जानकारी दिए। नेपाली फिल्मलाई विश्वभरका दर्शकमाझ पुर्याउने अभियानमा यस अन्तर्राष्ट्रिय प्रदर्शनले थप उत्साह थपेको बताउँदै उनले प्रदर्शन हुने शहर तथा थिएटरहरूको विस्तृत विवरण क्रमशः सार्वजनिक गरिने बताए।
फिल्म को मुख्य भूमिकामा निर्देशक नीता ढुङ्गाना स्वयं छिन्। उनीसँगै अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल, र दिप्त प्रकाश अधिकारी लगायतका कलाकारहरूको अभिनय रहेको छ।
शिवम् अधिकारीको पटकथा रहेको यस फिल्ममा सुदीप बरालको छायाङ्कन, साहिल खानको सम्पादन तथा टिजर र ट्रेलर कट, र रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ। शंकर पाण्डे कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजर रहेको यस फिल्मका निर्माता हरिहर अधिकारी हुन्।
नेपालमा एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले वितरण जिम्मा लिएको यस फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ। पछिल्लो समय फिल्ममा समावेश ‘तुनाको रेल’ र ‘दिदी भाइ’ गीतहरू चर्चामा छन्। नेपालमा भने यो चलचित्र आगामी भदौ १२ गते शुक्रबारदेखि हलहरूमा प्रदर्शन हुँदैछ।
News Filmy Newsportal / Nepal