काठमाडौं । फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को मुख्य भूमिकामा अभिनेता प्रजल दुलाल अनुबन्धित भएका छन्। निर्देशक बलिराम चौहानले प्रजललाई मुख्य भूमिकाका लागि अनुबन्ध गरेका हुन्।
प्रजल अनुबन्धित भएसँगै फिल्मका मुख्य कलाकारको लाइनअप पूरा भएको निर्देशक चौहानले बताए।
यसअघि प्रजलले ‘बलिदान’, ‘बिमान’ र ‘अक्षरा’मा अभिनय गरिसकेका छन्। हाल उनी ‘तीन तीघ्रे क्या बिग्रे’को छायांकनमा व्यस्त छन्।
इटहरीमा जन्मिएका प्रजल सानैदेखि रेडियोमा काम गर्थे। रेडियोमा काम गर्ने क्रममा उनले रंगमञ्चको यात्रा सुरु गरेका हुन्। कलालय इटहरीको स्कुल थिएटरमा उनले गुरु सोनु जयन्ती र प्रज्वल पराजुलीसँग अभिनय सिकेका हुन्।
उनले कलालय इटहरी, आरोहण गुरुकुल, पश्चिम बंगाल, भारतलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा करिब दुई दर्जन नाटकमा अभिनय, लेखन तथा निर्देशन गरिसकेका छन्। त्यस्तै, उनले दर्जनौँ सर्ट फिल्म, म्युजिक भिडियो, सिरिज तथा टिभीसी विज्ञापनमा पनि अभिनय गरेका छन्।
उनले नीर शाह निर्देशित फिल्म ‘कमला मिस’को पटकथा तथा संवाद लेखनमा नीर शाह र सुगम दुलालसँग सहकार्य गरेका थिए।
यसअघि नै फिल्मको मुख्य भूमिकामा रिहान गिरी, सन्तोष बानियाँ र जीवनजंग बस्न्यात अनुबन्धित भइसकेका छन्। मुख्य अभिनेत्रीमा गुराँस ढकाल अनुबन्धित भएकी छन्।
स्काइफल पिक्चर्सको ब्यानरमा निर्माण हुने फिल्मले जेन्जी पुस्ताको प्रेम, संघर्ष र स्वतन्त्रताको कथा भन्नेछ। विशेषगरी युवापुस्ताको मनोविज्ञान र समसामयिक कथालाई पर्दामा उतार्ने तयारी रहेको निर्देशक चौहानले बताए।
फिल्म असोजको पहिलो साताबाट छायांकनमा जाने तयारीमा छ। हाल प्रि–प्रोडक्सनको काम भइरहेको छ। कथाअनुसार फिल्मको स्लोगन पनि युवाकेन्द्रित ‘हरेक युवाको कथा’ राखिएको छ।
निर्माण पक्षका अनुसार नेपाली युवापुस्ताले साथीभाइबीच हुने दबाब वा मानसिक तनावलाई बुझाउन ‘ल्याङ्ग ल्याङ्ग’ शब्द प्रयोग गर्ने गर्छन्। फिल्मले यही युवा चरित्र र उनीहरूको दैनिक जीवनका उतारचढावलाई समेट्नेछ।
फिल्मको कथा निर्देशक चौहान र उपाश्री खतिवडाले लेखेका हुन्। भोलानाथ कटुवालको लगानीमा निर्माण हुने फिल्मको हाल धमाधम प्रि–प्रोडक्सनको काम भइरहेको छ।
News Filmy Newsportal / Nepal