काठमाडौं । हरि लम्साल निर्देशित फिल्म ‘बा : एक योद्धा’को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण पक्षले शुक्रबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरेको हो।
सार्वजनिक ट्रेलरमा बुवाको संघर्ष र त्यागलाई केन्द्रमा राखिएको छ। सन्तानको सुख र खुसीका लागि बुवाले गर्ने संघर्ष, त्याग र बलिदानलाई ट्रेलरमा प्रस्तुत गरिएको छ।
सन्तानका लागि आफ्नो सबै कुरा त्याग्ने बाबुआमाले बुढेसकालमा सन्तानबाटै उपेक्षा भोग्नुपर्ने सामाजिक यथार्थलाई पनि ट्रेलरमा देखाइएको छ। आफू जन्मिएको र हुर्किएको भूमि तथा आफूलाई योग्य बनाउने बाबुआमालाई बिर्सिने प्रवृत्तिमाथि पनि ट्रेलरले प्रश्न उठाएको छ।
सन्तानको खुसीका लागि आफ्नो घरसमेत बेच्न तयार हुने बाबुले सन्तानबाट पाउने दुःख र त्यसपछि आउने परिस्थितिलाई ट्रेलरमा देखाइएको छ। आफ्नै सन्तानले दिएको चोट सहन नसकेपछि बुवाले लिने कठोर निर्णयलाई भने ट्रेलरमा सस्पेन्सका रूपमा राखिएको छ।
परिवार टुटेपछि उत्पन्न हुने परिस्थितिलाई पनि ट्रेलरले देखाएको छ। परिवारको मुख्य अभिभावक तथा फिल्मको मुख्य पात्रले त्यसपछि के निर्णय गर्छ भन्ने कौतुहलतामै ट्रेलर सकिन्छ। यसले फिल्मको क्लाइमेक्सप्रति दर्शकमा जिज्ञासा पैदा गर्छ।
फिल्म ‘बा : एक योद्धा’ भदौ १९ गतेदेखि प्रदर्शनमा आउनेछ। नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौतीलाई फिल्मको मुख्य विषय बनाइएको निर्माण पक्षले जनाएको छ।
फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको अभिनय रहेको छ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको फिल्म कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको हो। नेपाली संगीत क्षेत्रमा दर्जनौँ चर्चित गीत दिएका लम्साल रचनाकार तथा गायक पनि हुन्। फिचर फिल्मतर्फ ‘बा : एक योद्धा’ उनको पहिलो निर्देशन हो।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मको कथा र पटकथा लम्सालले नै लेखेका हुन्। फिल्मका निर्माता वसन्त लम्साल हुन्। अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माता छन्।
शिवराम श्रेष्ठको छायांकन रहेको फिल्मका मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने हुन्। भदौ १९ गतेदेखि प्रदर्शनमा आउने फिल्मलाई आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।
News Filmy Newsportal / Nepal