‘द राइज अफ साम्राज्य’मा नाजिर हुसेन अनुबन्धित, सौगात र दयाहाङसँगै देखिँदै

काठमाडौं । निर्देशक सौरभ चौधरीले नयाँ फिल्म ‘द राइज अफ साम्राज्य’मा अभिनेता नाजिर हुसेनलाई अनुबन्ध गरेका छन् । अभिनेता सौगात मल्ल र दयाहाङ राईपछि नाजिर यो फिल्मको मुख्य भूमिकामा जोडिएका हुन् ।

नाजिर र निर्देशक चौधरीले यसअघि पनि सहकार्य गरिसकेका छन् । सौगात मल्ल स्टारर ‘अगस्त्य’मा नाजिरले काम गरेका थिए ।

“नाजिर आफैँमा भर्सटाइल अभिनेता हुन् । हामीले अब्बल कलाकार लिने क्रममा नाजिरसँग पनि यो फिल्ममा सहकार्य गर्ने भएका छौँ,” निर्देशक चौधरीले भने, “सौगात र दयाहाङजस्तै नाजिरलाई पनि यो फिल्ममा एक मुख्य कलाकारका रूपमा देख्न सकिनेछ ।”

सौगात, दयाहाङ र नाजिरपछि अझै केही अब्बल कलाकार फिल्ममा जोडिने क्रम जारी रहने निर्देशक चौधरीले बताएका छन् । कलाकारको लाइनअपले फिल्म मल्टिस्टार बन्ने संकेत गरेको छ ।

डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा उपन्यासकार बुद्धिसागरले कथा तथा पटकथा लेखेका छन् । निर्देशक चौधरीका अनुसार यो ‘एपिक एक्सन ड्रामा’ हुनेछ ।

सौरभले यसपटक अघिल्ला फिल्मको तुलनामा अझ ठूलो क्यानभासमा काम गर्ने तयारी गरेका छन् । निर्माण पक्षले यो नेपाली फिल्मकै ठूलो स्केलको एक्सन फिल्म हुने दाबी गरेको छ ।

फिल्मको छायांकन आगामी भदौको पहिलो साताबाट सुरु हुनेछ । निर्माण टिमले ७० दिनको छायांकन तालिका तयार पारेको छ । फिल्मको अधिकांश छायांकन पूर्वी नेपालमा गरिनेछ ।

फिल्मका निर्माता प्रवेश चौधरी र निला देव हुन् । को–प्रोड्युसरमा विश्वास बस्नेत (बेन) तथा कार्यकारी निर्मातामा शंकर पाण्डे रहेका छन् ।

मानकृष्ण महर्जनको डीओपी रहने फिल्मको एक्सन निर्देशन श्री श्रेष्ठले गर्नेछन् । ओएसआर डिजिटल डिजिटल पार्टनर तथा टौवा स्टुडियो पब्लिसिटी पार्टनरका रूपमा जोडिएका छन् । फिल्मको वितरणको जिम्मेवारी डिसीएनले लिएको छ ।

Leave a Reply