‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी’ घोषणा, विपिन र मिरुना दोहोरिँदै

काठमाडौं । २०८२ सालको ब्लकबस्टर फिल्म ‘ऊनको स्वीटर’को सिक्वेल निर्माण हुने भएको छ । शनिबार काठमाडौंमा आयोजित तेस्रो ‘इन्फा इन्टरनेशनल नेपाली फिल्म अवार्ड’को मञ्चबाट फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो ।

सिक्वेलको नाम ‘कलेजी–ऊनको स्वीटर’ राखिएको छ । आगामी दसैंपछि छायांकन सुरु गर्ने तयारी रहेको फिल्मलाई सन् २०२७ मा विश्वव्यापी रूपमा प्रदर्शन गर्ने लक्ष्य निर्माण पक्षले राखेको छ ।

निर्देशक नवीन चौहानले सामाजिक सञ्जालमार्फत फिल्मको शीर्षक सार्वजनिक गर्दै ‘ऊनको स्वीटर’को संसार नयाँ आशा, नयाँ कथा र नयाँ यात्रासहित फर्किन लागेको बताएका छन् ।

“प्रिय दर्शकहरू, तपाईंहरूले माया गरेर मनमा सजाउनुभएको ‘ऊनको स्वीटर’को संसार फेरि फर्किँदैछ, नयाँ आशा, नयाँ कथा र नयाँ यात्रासहित,” उनले लेखेका छन्, “ ‘कलेजी–ऊनको स्वीटर’ अब केवल एउटा फिल्मको सिक्वेल होइन, पात्रहरूको जीवन र उनीहरूको अधुरो यात्राको अर्को अध्याय हो ।”

सिक्वेलमा चर्चित भारतीय अभिनेता पियूष मिश्रा पनि जोडिएका छन् । निर्देशक चौहानका अनुसार लामो समय लगाएर स्क्रिप्ट पढेपछि र ‘ऊनको स्वीटर’ हेरेपछि मिश्राले फिल्ममा काम गर्न सहमति जनाएका हुन् ।

चौहानले दर्शकको अत्यधिक माग र पर्खाइलाई सम्बोधन गर्न सिक्वेल निर्माण गर्न लागिएको बताए ।

“यस पटक हामीले ‘ऊनको स्वीटर’को यात्रालाई अझ फराकिलो ढङ्गले उजागर गर्ने कोसिस गरेका छौँ । धेरै दर्शकले फिल्म आधा–अधुरो भयो, पूरा कथा हेर्न चाहन्छौँ भनेर हामीलाई आग्रह गर्नुभएको थियो,” उनले भने, “धेरै पटक विभिन्न बहाना बनाएर टार्ने प्रयास पनि गर्‍यौँ । तर, अब भने ‘ऊनको स्वीटर’को नयाँ यात्रा सुरु गर्दैछौँ ।”

‘सीमानाभन्दा माथि हुन्छ कला’ भन्ने मूल मर्मलाई आत्मसात् गर्दै निर्माण हुन लागेको फिल्ममा धरणीधर र फूलको अधुरो प्रेमकथा सिक्किमबाट सुरु हुने निर्देशक चौहानले जानकारी दिए ।

सिक्वेलमा अघिल्लो फिल्मकै हिट जोडी विपिन कार्की र मिरुना मगर मुख्य भूमिकामा दोहोरिनेछन् । विपिनले धरणीधर र मिरुनाले फूलको भूमिका निर्वाह गर्नेछन् । यस्तै, एलेक्स पारस र परीक्षा लिम्बूको पनि मुख्य भूमिका रहनेछ ।

भारतका चर्चित लेखक तथा दिग्गज अभिनेता पियूष मिश्राको पनि फिल्ममा विशेष भूमिका रहनेछ । अभिषेक सुवेदीको सह–लेखन तथा नवीन चौहानको लेखन र निर्देशनमा बन्ने फिल्मको प्राविधिक तथा अन्य टिम चाँडै सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ । फिल्ममा नेपाल र भारतका प्राविधिकको संलग्नता रहनेछ ।

प्रेमकथामा आधारित अघिल्लो फिल्म ‘ऊनको स्वीटर’ले घरेलु बक्स अफिसमा १२ करोड रुपैयाँको व्यापार गर्दै २०८२ सालको सुपरहिट फिल्म बनेको थियो । नेपालबाहेक भारतका सिनेमाघरमा समेत प्रदर्शन भएको फिल्मले करिब डेढ करोड भारु अर्थात् २ करोड ४० लाख रुपैयाँ कमाउँदै ५१ दिन मनाएको थियो ।

फिल्ममा समावेश ‘फूल’, ‘मखमली’, ‘काफ्ले’ र ‘चाईनेजो जिन्दगानी’लगायत गीत दर्शक तथा श्रोतामाझ लोकप्रिय छन् ।

राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट फिल्म, निर्देशक र अभिनेत्रीको अवार्ड जितेको ‘ऊनको स्वीटर’ले शनिबार आयोजित इन्फामा उत्कृष्ट निर्देशक, लेखक, अभिनेता, अभिनेत्री, गीत र संगीतसहित नौवटा अवार्ड जितेको थियो ।

यस्तै, कर्णाली अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा उत्कृष्ट फिल्म, निर्देशक र अभिनेता तथा नेपाल क्रिटिक्स अवार्डमा उत्कृष्ट फिल्म, निर्देशक, लेखक र ब्याकराउन्ड म्युजिकको अवार्ड जितेको फिल्मले हालसम्म १९ वटा अवार्ड जितिसकेको निर्माण पक्षले जनाएको छ ।

Leave a Reply